स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा दार्मा गाउँपालिका पहिलो

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा सल्यानको दार्मा गाउँपालिका जिल्लामा पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्यांकन २०८१/०८२ को अन्तिम नतिजाअनुसार दार्मा गाउँपालिका ७६.४० अंक प्राप्त गर्दै जिल्लाभित्रका सबै स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादनमा पहिलो भएको हो। 

आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरी वित्तीय समानीकरण अनुदानको अंक निर्धारण गर्ने गर्दछ । मूल्यांकनमा बजेट समयमै ल्याउने, बेरुजु फर्स्याेट गर्ने, राजस्व संकलन बढाउने, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग तथा वित्तीय अनुशासन कायम गर्नेलगायतका सूचकहरू समावेश छन्। 

आयोगले माघ २९ गते प्रारम्भिक नतिजा सार्वजनिक गरी पुनरावलोकनका लागि सात दिनको सूचना जारी गरेको थियो। स्थानीय तहहरूले छुट भएका विवरणहरू पेस गरेपछि अन्तिम नतिजा प्रकाशित गरिएको हो। दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले आयोगको मूल्यांकनले स्थानीय तहको कामको पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन जाँच गर्ने बताए। 

गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले भने, ‘जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको सहकार्यले दार्मा गाउँपालिकाले जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको हो। आगामी दिनमा पनि सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता छ।’ आयोगले सार्वजनिक गरेको नतिजाअनुसार दोस्रो स्थानमा छत्रेश्वरी गाउँपालिकाले ७२.२४ अंक र तेस्रो स्थानमा त्रिवेणी गाउँपालिकाले ६८.८७ अंक प्राप्त गरेका छन्। 

यस्तै, कालीमाटी गाउँपालिकाले ६४.४८, सिद्धकुमाख गाउँपालिकाले ५३.४८ अंक र कुमाख गाउँपालिकाले ५२.५० अंक प्राप्त गरेका छन्। नगरपालिकातर्फ बनगाड कुपिन्डे नगरपालिकाले ६६.९७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यस्तै शारदा नगरपालिकाले ६१.१२ अंक र बागचौर नगरपालिकाले ५७.५५ अंक प्राप्त गरेका छन् । आयोगका अनुसार मूल्यांकनमा विकास कार्यक्रमको कार्यान्वयन, बजेटको प्रभावकारी उपयोग, प्रशासनिक क्षमता तथा जनसहभागितालाई आधार मानेर अंक निर्धारण गरिएको हो । 
 

सुझावित समाचार