इरान युद्धको पहिलो ६ दिनमा अमेरिकाको ११.३ अर्ब डलर खर्च

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अधिकारीले यो साता कंग्रेस (संसद्) सदस्यलाई इरान युद्धबारे गोप्य ब्रिफिङ गरेका थिए । त्यसमा उनीहरूले इरानविरुद्धको युद्धको पहिलो ६ दिनमा संयुक्त राज्य अमेरिकाको कम्तीमा ११.३ अर्ब डलर खर्च भएको प्रक्षेपण पेस गरेको यस विषयमा जानकार एक स्रोतलाई उल्लेख गर्दै रोयटर्स समाचार एजेन्सीले लेखेको छ । 

मंगलबार कंग्रेसको माथिल्लो सदन सिनेट सदस्यलाई गरिएको गोप्य ब्रिफिङमा भनिएको तथ्यांकमा युद्धको सम्पूर्ण लागत समावेश छैन । कंग्रेस सदस्यले आगामी दिनमा ह्वाइट हाउसले युद्धका सम्पूर्ण खर्च कंग्रेसमा पेस गर्ने अपेक्षा गरेका छन् । युद्ध लम्बिँदा त्यसको सञ्चालनका लागि थप कोष निकासा नगर्नुपर्ने विषयप्रति कंग्रेसका सदस्यले चिन्ता व्यक्त गरेका छन् । विशेषत: यस अवस्थामा युद्ध कति समय लम्बिने यकिन गर्न जोड दिएका छन् । 

राष्ट्रपति ट्रम्पले बुधबार केन्टकी राज्यको भ्रमणका क्रममा युद्ध लगभग अमेरिकाले जितिसकेको टिप्प्णी गर्दै अब बाँकी केही काम पूरा गर्न लडाइँ चलिरहेको बताए । ट्रम्पले इरानमा अब ‘बमबारी गर्न बाँकी केही नै नबचेका’ले युद्ध ‘चाँडै’ समाप्त हुन सक्ने बताए । तथापि, ट्रम्पले आफ्नो सो दाबी पुष्टि गर्ने कुनै प्रमाण पेस गरेनन् । 

११.३ अर्ब डलरको तथ्यांक पहिलोपटक बुधबार ‘द न्युयोर्क टाइम्स’ले सार्वजनिक गरेको थियो । ट्रम्प सरकारका अधिकारीले सांसदहरूलाई आक्रमणको पहिलो दुई दिनमै ५.६ अर्ब डलरको हतियार प्रयोग गरिएको बताएका थिए ।

इरान र अमेरिका–इजरायलबिचको युद्धले अहिलेसम्म लगभग दुई हजार मानिसको ज्यान लिइसकेको छ, जसमा धेरैजसो इरानी र लेबनानी छन् । इरानले अमेरिकी आधार रहेका छिमेकी खाडी देशमाथि प्रतिशोधात्मक हमला गर्दा विश्वभर खनिज इन्धनको मूल्य बढेको छ । संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी (युनिसेफ)का अनुसार फैलिँदो द्वन्द्वमा हालसम्म एक हजार १०० बालबालिका हताहत भएको बताउँदै मध्यपूर्वमा लाखौँ बालबालिका अहिले ‘विपत्ति’ मा छन् । निरन्तर इजरायली बमबारीबाट लेबनानमा लगभग लाखौँ मानिस विस्थापित भएका छन् । 

सुझावित समाचार