महावीर पुनमाथि अभद्र व्यवहार गर्ने पक्राउ

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

पोखराको सडकमा पुस्तक बिक्री गर्दै गरेको अवस्थामा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई अभद्र व्यवहार गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १३, बाँझापाटन बस्ने वर्ष ४३ का विकास गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

२५ फागुनमा पोखरा– ९, पृथ्वीचोकस्थित सडकमा पुनसँगै उनको टोलीले ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा एकजना अपरिचित व्यक्ति आई अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए ।

पुनसँगै उनको टोलीलाई अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान गरी खोजतलास गर्ने क्रममा गुरुङलाई बिहीबार पक्राउ गरेको बस्नेतले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा– ९, महेन्द्रपुलबाट गुरुङलाई पक्राउ गरेको हो । 

पक्राउ परेका गुरुङ यसअघि तीनपटक लागुऔषध मुद्दामा सजाय पाइसकेको प्रहरी अभिलेखबाट खुल्न आएको बस्नेतले बताए । पक्राउ परेका गुरुङका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

सुझावित समाचार