नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न कास्की क्षेत्र नम्बर १ ले पार्टीको कास्की जिल्ला कार्यालयमा बिहीबार आयोजना गरेको बैठकमा बोल्दै गर्दा एक्कासि ढलेका थापाको उपचारको क्रममा निधन भएको हो।
बोल्दाबोल्दै ढलेका थापालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिए। थापाको उपचारमा संलग्न चिकित्सकले हृदयघातका कारण निधन भएको जानकारी दिएका लामाले बताए। बैठकका थापा करिब १० मिनेट बाेलेका थिए। आफ्नो भनाइ राख्ने क्रममै उनी ढलेका लामाले जानकारी दिए।
थापा ०५४ सालमा पोखरा महानगरपालिकाको मेयर तथा ०७४ को प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेशमा निर्वाचित भएका थिए। ०७९ को स्थानीय तहको निर्वाचनमा भने पोखराको मेयरमा पराजित भएका थिए।