कञ्चनपुरको लालपुरमा जिपको ठक्करबाट दुई युवकको ज्यान गएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बेदकोट नगरपालिका– ७, लालपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार से.१च १४०५ नम्बरको जिपको ठक्करबाट म.२प ३५०६ नम्बरको मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका– १ बाराकुण्डाका ४२ वर्षीय दानसिंह धामी र ४० वर्षीय राम लुहारको मृत्यु भएको हो।
जिपको ठक्करबाट गम्भीर घाइते भएका धामी र लुहारको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो। शव अस्पतालमै राखिएको र जिपसहित चालक पुनर्वास– ११ का २२ वर्षीय सुनील चौधरीलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी शाहीले बताए।