राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद् भवनको अनुगमन

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधिसभा हलका साथै मल्टिपर्पोज हलको अवस्थाबारे जानकारी लिएका हुन्।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संसद् बैठक बस्ने कक्ष तयार नहुँदा मल्टिपर्पोज हललाई तयार गर्न लागिएको छ। अध्यक्ष दाहालले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणका लागि बनिरहेको उक्त हलको प्रगतिबारे पनि जानकारी लिएका छन्।

सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टिपर्पोज हललाई सभा कक्षका रूपमा निर्माण गरिनेछ। साथै भवनपरिसरको सरसफाइ पनि गरिने उनीहरूले बताएका छन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन भने अझै एक–दुई महिना लाग्ने उनीहरूको भनाइ छ।

अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूको शपथग्रहण र त्यसपछि प्रतिनिधिसभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिए। बैठक हलको अव्यवस्थाका कारण समग्र राष्ट्रकै बेइज्जत हुने स्थिति आउन नहुने भन्दै अध्यक्ष दाहालले रातदिन जसरी हुन्छ, द्रुत गतिमा काम गर्न आग्रह गरे।

सुझावित समाचार