मध्यपूर्व संकटबाट दक्षिण एसिया प्रभावित, दिल्लीमा छलफल

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

पछिल्लो दुई सातायता इरानकेन्द्रित पश्चिम एसियाली देशमा विकसित अशान्त परिस्थितिले पारेको ऊर्जा संकट, युद्धले दक्षिण एसियामा परेको प्रभावबारे नयाँदिल्लीमा चिन्ता हुन थालेको छ। क्षेत्रीय परिस्थितिबारे भारत सरकारसम्बद्ध चिन्तन प्रतिष्ठानहरूले धमाधम बहस गर्न थालेका छन्।

दिल्लीमा चिन्तन संस्थान सिनर्जिया फाउन्डेसनले आयोजना गरेको सम्मेलनमा बिहीबार र बुधबार विज्ञहरूले मध्यपूर्वमा भइरहेको द्वन्द्व र त्यसको विशेषगरी दक्षिण एसियामाथि परेको प्रभावबारे खुलेर छलफल गरेका छन्। उनीहरूले ऊर्जा सुरक्षा कायम राख्नका लागि बलियो क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड दिएका छन्।

मध्यपूर्वमा भएको द्वन्द्वका कारण भारतमा खाना पकाउने ग्यासको अभावबारे चर्चा भएको छ जसको असर नेपालमा पनि देखिएको छ। नेपालमा खाना पकाउने एलपिजी ग्यास भारतबाटै आयात हुँदै आएको छ। भारत र भारतका छिमेकी देशहरूमा परेको ऊर्जा संकट तथा सुरक्षा चिन्ताको असरलाई एकीकृत रूपमा सामना गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

भारतका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणनले दक्षिण एसियाली देशहरूबिच पारस्परिक सहयोग गर्न कसरी सकिन्छ भन्ने विषयमा अब चिन्तन गर्नुपर्ने बताए। उनले क्षेत्रको सबैभन्दा ठुलो देशका रूपमा भारतले यो क्षेत्रभित्र साझेदारी गर्नुपर्ने सुझाव दिएका छन्। उनले भने, ‘हामीले आफ्नै क्षमतामा आधारित भएर आफ्नै शक्ति निर्माण गर्नुपर्छ। हामीलाई आपसमा अझ बढी एकीकृत हुन आवश्यक छ। यो त्यस्तो क्षेत्र हो जसले अमेरिकालगायत विश्वलाई मानव सम्भावना प्रदान गरेको छ। देशको आकारले फरक पार्दैन, तर नेतृत्व गर्न सकिन्छ। हामीले अहिलेसम्म आफ्ना क्षमताहरूलाई कम आँकेका छौँ। अब आफैँलाई पुनर्विचार गर्ने समय आएको छ।’

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित परिणाम विचार नगरी मध्यपूर्वमा लडाइँ गरिरहेको बताए। उनले भने– यो क्षेत्र अहिले तेल संकटको सामना गरिरहेको छ, जुन हाम्रो लागि नयाँ कुरा होइन। तर, हामीले क्षेत्रीय सहकार्यमा ध्यान दिनुपर्छ। साथै क्षेत्रीय सुरक्षाबारे पनि छलफल गर्नुपर्छ, तर यो चर्चा गर्दा राष्ट्रहरूको सार्वभौम संवेदनशीलतालाई सम्मान गर्नुपर्छ।

सिनर्जिया सम्मेलनमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका अध्यक्ष आलोक जोशीले इन्डो क्षेत्र (दक्षिण र दक्षिण पूर्वी एसिया) विविध अर्थतन्त्रहरूको घर भएको बताउँदै मध्यपूर्व संकटलाई सामना गर्न मानवीय, कूटनीतिक र रणनीतिक शक्ति एकीकृत गर्नुपर्नेमा जोड दिए। उनले जलवायु चुनौतीहरू पनि रहेको र त्यसले वातावरण, समाज र अर्थतन्त्रमा प्रभाव पारेको उल्लेख गरे। उनले अर्को सन्दर्भमा माल्दिभ्समा समुद्री सतह बढ्नु र नेपालमा हिमनदी पग्लिनुजस्ता समस्याले सम्पूर्ण क्षेत्रलाई चुनौती दिएको पनि उल्लेख गरे।

उनको भनाइ थियो– अहिलेको समयमा सहकार्यपूर्ण क्षेत्रीय प्रतिक्रिया आवश्यक भएको छ। आतंकवादको समस्या पनि हामी सबैले सँगै सामना गरिरहेका छौँ। त्यसका लागि साझा गुप्तचर जानकारी, संयुक्त अभ्यास आवश्यक छ। कोभिड–१९ महामारीका समयमा जस्तै समन्वित काम आवश्यक भएको छ र अहिले मध्यपूर्व संकटका सन्दर्भमा पनि त्यस्तै समन्वित दृष्टिकोण आवश्यक छ।

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदले हालको मध्यपूर्व संकटबाट उत्पन्न जोखिमहरू सामना गर्न क्षेत्रीय सहकार्य मजबुत बनाउनु आवश्यक रहेको उनले बताए। दक्षिण एसियामा शान्ति संरक्षण गर्नुपर्ने र क्षेत्रीय सहकार्य अपरिहार्य रहेकोमा उनले जोड दिए। उनले थपे कि क्षेत्रीय सहकार्य भनेको क्षेत्रीय सहकार्य हो।  भारत वा कुनै देशको कुनै देशसँगको द्विपक्षीय सम्बन्ध मात्र होइन, यो क्षेत्रीय सम्बन्ध हो।

भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल जिएभी रेड्डीले  दक्षिण एसियाली उपमहाद्वीपको साझा र संयुक्त शक्ति अहिले आवश्यक भएको बताए।  उनले ठुला शक्तिहरूबिचको प्रतिस्पर्धाप्रति यो क्षेत्रमा साझा चिन्ता थपिएको  र दक्षिण एसियाले सुरक्षा चुनौतीदेखि ऊर्जा सुरक्षा चुनौतीसम्म सामना गरिरहेकोमा जोड दिए। अब यो क्षेत्रभित्र साझेदारी र सदभाव निर्माण गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए।  उनले क्षेत्रीय समस्याको समाधान क्षेत्रमै खोजिनुपर्ने भन्दै कुनै पनि देशले एक्लै क्षेत्रीय समस्याको समाधान गर्न नसक्नेमा सबै स्पष्ट हुनुपर्ने बताए।

माल्दिभ्सकी पूर्वरक्षामन्त्री मारिया दिदीले माल्दिभ्सका लागि विदेश नीति अस्तित्वको प्रश्न भएको बताइन्। उनले रणनीतिक प्रश्न उठाइन्– क्षेत्रीय निकटताले साना देशहरूका लागि कसरी समृद्धि ल्याउन सक्छ ? माल्दिभ्सका लागि यो सैद्धान्तिक होइन, व्यावहारिक प्रश्न भएको उनले बताइन्। उनले भनिन्– निकटताले अवसर पनि सिर्जना गर्न सक्छ र जोखिम पनि ल्याउन सक्छ। महाशक्तिहरूबिचको प्रतिस्पर्धा हामीबाट टाढा छैन। प्रतिस्पर्धा मध्यपूर्वभन्दा बाहिर पनि फैलिएको छ। आज अन्तर्राष्ट्रिय नियमहरूको आवश्यकता झन् बढेको छ। यस्तो अवस्थामा परस्पर निर्भरता हाम्रो संरचनात्मक वास्तविकता भएको उनले उल्लेख गरिन्।

भारतको वित्तीय सेवा विभागका सचिव एम नागराजुले  वर्तमान विश्व व्यवस्था खण्डित भएको बताएका छन्। जलवायु परिवर्तन नयाँ वास्तविकता भएको र त्यसले क्षेत्रीय अर्थतन्त्रलाई असर गरिरहेको उनले बताए। क्षेत्रमा डिजिटल इकोसिस्टम अझ विस्तार गर्नुपर्ने र नयाँ प्रकारको वित्तीय बौद्धिकता आवश्यक भएको उनले बताए।

श्रीलंकाका पूर्वसेनाप्रमुख जनरल शिभेन्द्र सिल्भालले दक्षिण एसियाको जीवित वास्तविकता सुरक्षा भएकोमा स्पष्ट हुनुपर्ने बताए। साझा सभ्यता, भूगोल र जोखिमका कारण क्षेत्रीय सुरक्षाको साझा जिम्मेवारी सबैले लिनुपर्ने उनले बताए। उनले हिमालय र हिन्द महासागरका कारण जलवायु जोखिम बढेको र समुद्री जीवनरेखाहरूमा प्रभाव परेको र यी साझा वास्तविकतामा जानुपर्नेमा जोड दिए। उनले भने– हामीसँग आपसमा जोडिएका जोखिमहरू छन्, जसले साझा रेस्पोन्सको माग गर्छ। क्षेत्रीय सहकार्य हाम्रो रणनीतिक आवश्यकता भएको भन्दै उनले दक्षिण एसिया साझा समुदाय बन्नुपर्नेमा जोड दिए।

भारतका पूर्वकूटनीतिज्ञ पंकज शरणले दक्षिण एसिया अहिले अत्यन्त कठिन समयमा रहेको बताए। युद्ध अहिले इन्डो क्षेत्रमा नजिक आइपुगेको भन्दै उनले पश्चिम एसियाको युद्धले गम्भीर जोखिम र सीमित विकल्पहरू सिर्जना गरेको बताए। यसले  देशहरूको सार्वभौमसत्ता जोखिममा परेकोमा पनि चिन्ता जनाए। उनले भने– पश्चिम एसियाको युद्ध कसरी अन्त्य हुन्छ र विश्व शक्तिहरूले कहिले निर्णय लिन्छन् भन्ने कसैलाई थाहा छैन।  यस्तो अवस्थामा आशावादी हुन गाह्रो छ। के हुन्छ, कसैलाई थाहा छैन।

पूर्वराजदूत बेंकटेश बर्माले सबैभन्दा पहिले वैश्विक छिमेकीपन निर्माण गर्नुपर्ने बताए। विश्व शक्तिहरूले प्रायः कमजोरी खोज्ने भए पनि हामीले आफ्नै स्वामित्व पुनर्जीवित गर्नुपर्ने उनको सुझाव थियो। देशभित्र र छिमेकमा विविधताभित्रको एकतालाई स्वीकार गर्नुपर्ने तथा छिमेकी देशहरूको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो। दक्षिण एसियाभित्र कुनै पनि देशले आतंकवादी समूहलाई आश्रय दिनु नहुने एवं विदेशी सैन्य आधारहरू यो क्षेत्रभित्र आवश्यक नभएको उनको भनाइ थियो। छिमेकीहरूको कुरा सुन्ने र उनीहरूको हितको सम्मान गर्ने वातावरणले साझा चुनौतीहरूको समाधानमा सहयोग गर्ने बर्माको भनाइ थियो।

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसीले अब यो क्षेत्रमा क्षेत्रीय आर्थिक एकीकरण आवश्यक भएको बताए। भारतले नेपाललाई दक्षिण एसियाली ऊर्जा व्यापारका लागि प्रसारण अनुमति दिनुपर्ने उनले बताए। नेपाल क्षेत्रीय बजारमा ऊर्जा निर्यात गर्न सक्षम भएको तथा नेपाल लामो समयदेखि भारतीय प्रत्यक्ष वैदेशिक लगानीको प्रतीक्षामा रहेको उनले उल्लेख गरे।

भारतका सुरक्षाविज्ञ एबी माथुरले विश्वले अहिले बहुविध युद्धको सामना गरिरहेको, आणविक हतियारको अनिश्चितता रहेको र संयुक्त राष्ट्रसंघको प्रभाव पनि कमजोर भएको बताए। युद्धको प्रकृति पूर्ण रूपमा बदलिएको र आगामी वर्षहरूमा युद्धको स्वरूप अझ अनिश्चित हुने भन्दै उनले चिन्ता जनाए। पाकिस्तान–अफगानिस्तान र कम्बोडिया–थाइल्यान्डजस्ता क्षेत्रहरूमा पनि तनाव रहेको भन्दै उनले भारतसँग क्षेत्रीय समस्या समाधान गर्ने क्षमता रहेको र सबै देशहरूले सामूहिक सुरक्षाका लागि एकजुट हुनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका युवा नेता तथा विदेश मामिला जानकार सिद्धार्थ थापाले मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा बजारलाई प्रभावित पार्न सक्ने बताए।  तेलको मूल्य वृद्धि हुँदा आयातित इन्धनमा निर्भर नेपालजस्ता देशको अर्थतन्त्र, यातायात र जीवनयापन खर्चमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै ऊर्जा सुरक्षाको विषय दक्षिण एसियाका लागि अत्यन्त महत्त्वपूर्ण भएकोमा जोड दिए। उनले भने– दक्षिण एसियामा ऊर्जा माग तीव्र रूपमा बढिरहेको छ र नेपालसँग त्यसलाई पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने क्षमता रहेको छ। नेपालको जलविद्युतमा सहकार्य गर्नुपर्छ।

सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेले पश्चिम एसियाको क्षेत्रीय संकटले नेपाली जनतालाई प्रभाव पारेको बताए। रुस र युक्रेन दुवै सेनामा काम गरिरहेका नेपालीहरू मारिएको, मध्यपूर्वमा १९ लाख नेपाली प्रभावित घटनालाई उनले उदाहरणका रूपमा उल्लेख गरे। उनले अर्को सन्दर्भमा नेपाल–भारत सम्बन्धका सन्दर्भमा पुराना बोझ हटाउने अवसर आएको उनले बताए। भारतले नेपालका नयाँ पुस्ताका नेताहरूसँग संवाद गर्नुपर्ने उनले सुझाव दिए। दक्षिण एसियाका धेरै समस्याको समाधानमा भारतको महत्त्वपूर्ण भूमिका अपेक्षित रहेको उनको भनाइ थियो।

भारतका पूर्वविदेशसचिव रञ्जन मथाईले  इरानपछि उत्पन्न तनावका सन्दर्भमा दक्षिण एसियामा सामूहिक सुरक्षा सोच आवश्यक भएको बताए।

सुझावित समाचार