लहानमा नक्कली डेन्टल क्लिनिकको अनुगमन : विशेषज्ञ चिकित्सकको बोर्ड झुन्ड्याएर सहायकबाट उपचार

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

लहान क्षेत्रमा सञ्चालित डेन्टल क्लिनिकहरूको अनुगमनको क्रममा विशेषज्ञ चिकित्सकको बोर्ड झुन्ड्याएर सहायक र दाँतको विषयमा कुनै अध्ययन नै नगरेका व्यक्तिहरूबाट उपचार गरी बिरामीको उपचारमा गम्भीर लापरबाही र खेलबाड गरिएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलअन्तर्गत रहेको व्यावसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा. अजयकुमार साहको नेतृत्वमा रहेको अनुगमन टोलीले बुधबार अपराह्न सिराहाको लहान नगरपालिका– ३ अस्पताल चोक क्षेत्रमा सञ्चालित डेन्टल क्लिनिकहरूको स्थलगत अनुगमन गरेको थियो । अनुगमको क्रममा दाँतसम्बन्धी उपचारको नाममा सहायकस्तरका व्यक्ति र दाँतसम्बन्धी अध्ययन नै नगरेका व्यक्तिहरूबाट उपचार गरिएको पाइएको हो । 

बोर्डमा विशेषज्ञ चिकित्सक, उपचारमा खेलबाड
नेपाल डेन्टल एसाेसिएसनका अध्यक्षसमेत रहेका अनुगमन संयोजक डा. अजयकुमार साहको नेतृत्वमा डा. राजीव शर्मा र डा. सुमन कर्णसहितको टोलीले अस्पताल चोक क्षेत्रमा सञ्चालित डेन्टल क्लिनिकहरूको स्थलगत अनुगमन गरेको हो । संयोजक साहका अनुसार लहान– ३ स्थित अस्पताल चोक क्षेत्रमा रहेको ओरल हिमाल डेन्टल क्लिनिक, राधाकृष्ण डेन्टल क्लिनिक तथा वेस्ट राधा डेन्टल क्लिनिकको अनुगमनमा योग्यता प्राप्त विशेषज्ञ चिकित्सकको नाम झुन्ड्याएर विनामापदण्ड उपचार गरिरहेको पाइएको छ । 

‘हिमालका सञ्चालक प्रदीप साहका भाइले स्वास्थ्य सहायकस्तरको डेन्टल हाइजेनिस्ट मात्र पढेको पाइएको छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिले डेन्टल सर्जनको सुपरिवेक्षणमा स्केलिङबाहेक दाँतसम्बन्धी कुनै उपचार नै गर्नै पाउँदैनन् ।’ डेन्टल सर्जनको सुपरिवेक्षणमा काम गर्नुपर्ने हाइजेनिस्ट स्वयंले आफ्नो सहायकको रूपमा महिला स्वास्थ्यकर्मीलाई राखेर दाँतम्बन्धी सबै उपचार गरिरहेको पाइएको उनले बताए । 

बोर्डमा नाम झुन्ड्याइएका अर्थो डेन्टिस्ट हरेक महिना आक्कलझुक्कल क्लिनिकमा आएर फर्किने गरेको र उनको शैक्षिक प्रमाणपत्रबाट ०७६ सालमा दर्ता गरेयता नवीकरणसमेत नगरी बिरामीहरूको स्वास्थ्यमाथि खेलबाड गरिरहेको टोलीले जनाएको छ । उक्त क्लिनिकको नजिकै रहेको अर्को बेस्ट राधा डेन्टल क्लिनिक तुलनात्मक रूपले सफा रहेको भए पनि क्लिनिक दर्ता गर्दा शैक्षिक प्रमाणपत्र बुझाएका चिकित्सक नारायणप्रसाद चौधरीले एमडिएस गरेको भए पनि कहिल्यै क्लिनिकमा नआउने र उनको नाममा सञ्चालक स्वयंले चलाइरहेको पाइएको छ । 

‘२०७३ सालमा क्लिनिक दर्ता हुँदा प्रमाणपत्र दिएका चिकित्सकले त्यसबाहेक आफूले केही नगरेको सुनाए,’ उनले भने । दाँतसम्बन्धी सम्पूर्ण उपचारको नाममा बिरामी ठग्दै आएको अस्पताल चोककै राधाकृष्ण डेन्टल क्लिनिकले दुईजना चिकित्सकको नाम राखेर सञ्चालक मनोजकुमार साहले नै सबै काम गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोली आएको सुइँको पाएपछि सगरमाथा डेन्टल क्लिनिकका सञ्चालक भने क्लिनिक बन्द गरेर फरार भएका थिए । विशेषज्ञ चिकित्सकको नाम झुन्ड्याएर बिरामीलाई ठग्ने र स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्नेविरुद्ध प्रचलित स्वास्थ्य ऐन, नियमावलीबमोजिम कानुनी कारबाही हुने संयोजक साहले उल्लेख गरे । ‘योग्यताविना स्वास्थ्य क्लिनिक सञ्चालन गर्नु कानुनको गम्भीर उल्लंघन हो,’ उनले भने, ‘यसले सर्वसाधारणको स्वास्थ्यमाथि प्रत्यक्ष जोखिम बढाउने भएकाले कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

लहान क्षेत्रमा सञ्चालनमा रहेका करिब १५ वटा डेन्टल क्लिनिकमध्ये अधिकांशमा विशेषज्ञ चिकित्सकको नाम राखेर डेन्टल हाइजेनिस्ट वा त्यो पनि नपढेका व्यक्तिहरूबाट क्लिनिक सञ्चालन गरी सर्वसाधारणको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिएकाले कानुनबमोजिम कारबाही हुनुपर्ने स्थानीयको माग छ ।

सुझावित समाचार