ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाद्वारा कृषि, सेवा र पत्रकारितामा योगदान पुर्‍याउनेलाई सम्मान

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

स्थानीय स्तरमा कृषि, सेवा र पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले पाथीभरा याङ्वरक गाउँपालिकाले विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरेको छ। गाउँपालिकाको नवौँ स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा किसान, कर्मचारी, शिक्षक तथा पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

गाउँपालिकाले बुधबार आयोजना गरेको स्थापना दिवस कार्यक्रममा कृषिमा उदाहरणीय काम गरेका किसान, जिम्मेवारीपूर्वक सेवा प्रदान गरेका कर्मचारी, शिक्षण क्षेत्रमा योगदान दिएका शिक्षक तथा पत्रकारितामार्फत स्थानीय मुद्दा उजागर गर्ने पत्रकारलाई सम्मान गरेको जनाएको छ । उत्कृष्ट किसानतर्फ पाथीभरा याङ्वरक गाउँपालिका– १, नाङखाेल्याङका कुलराज न्यौपाने, वडा नम्बर २ थेचम्बुका तुलाराम भट्टराई, वडा नम्बर ३ तिरिंगेका सम्झना लिम्बू र वडा नम्बर ६ थुम्बेदिनका रामकुमार भण्डारी सम्मानित भएका छन् ।

उनीहरूलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, गाउँपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीमध्ये हेल्थ असिस्टेन्ट विकास पुन, सहायक चौथो पिपलमान गान्छाकी तथा कार्यालय सहयोगी सीतादेवी वि.क. उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भएका छन्  शिक्षण क्षेत्रतर्फ अभिषेक मेन्याङ्बो उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएका छन् । कर्मचारी तथा शिक्षकलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो । यसैगरी ताप्लेजुङमा पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै गोरखापत्रका ताप्लेजुङ समाचार दाता चन्द्र पन्दाकलाई उत्कृष्ट पत्रकारका रूपमा सम्मान गरिएको छ । उनलाई २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको कार्यक्रम आयोजकले जनाएको छ ।

सम्मानित व्यक्तिहरूलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ तथा प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठले पुरस्कार रकम र सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष सुब्बाले पालिकाभित्र उदाहरणीय काम गर्ने किसान, कर्मचारी र शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए ।

स्थानीय विकासका मुद्दा उजागर गर्न पत्रकारिताले खेलेको भूमिकालाई कदर गर्दै पत्रकारलाई पनि सम्मान गरिएको उनले उल्लेख गरे । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
 

सुझावित समाचार