पाथीभरा सडक निर्माण सुस्त, चार वर्षमा ४० प्रतिशत मात्रै काम

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

पूर्वी नेपालको प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा जाने मुख्य सडक निर्माणमा ढिलासुस्ती देखिएको छ। चार वर्षअघि सुरु गरिएको सुकेटार–काफ्लेपाटी सडक कालोपत्रे योजना अझै पूरा भएको छैन। हालसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न हुँदा बर्सेनि लाखौँ तीर्थयात्री आवतजावत गर्ने मुख्य मार्ग हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे छ।

पाथीभरा सडकअन्तर्गत सुकेटारदेखि काफ्लेपाटीसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्ने कामको ठेक्का चार वर्षअघि नै लागेको हो। सडक निर्माणको गति अत्यन्त सुस्त हुँदा अहिलेसम्म करिब ४० प्रतिशत मात्र काम सकिएको छ। 

सडक स्तरोन्नति नहुँदा सुक्खा मौसममा धुलोले हैरान हुने यात्रुहरू वर्षायाममा सडक हिलाम्मे भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। काठमाडौंस्थित कन्टेक प्रालिले उक्त सडक कालोपत्रे गर्ने ठेक्का लिएको छ। सो कम्पनीसँग २०७८ पुस ११ गते सुकेटारदेखि काफ्ले पाटीसम्मको सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो। ९५ करोड रुपैयाँको ठेक्का खुलेकोमा कम्पनीले ४१ करोड ७६ लाख ४७ हजार रुपैयाँ अर्थात् करिब ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो।

तमोर करिडोर सुभाङ्खोला–ओलाङचुङगोला सडक कार्यालयका सूचना अधिकारी बसन्तकुमार गाँईले पहिलो सम्झैतामा २०८१ पुस ११ सम्ममा काम सक्नुपर्ने भए पनि अहिलेसम्म नसकिएको बताए। दुईपटक म्याद थप गरिएको र अन्तिम म्याद थप गर्दा २०८३ मंसिर २९ गतेसम्म काम सक्ने गरी म्याद थप भएको सूचना अधिकारी गाईले बताए। सडक कार्यालयका अनुसार कामलाई गति दिन निर्माण कम्पनीलाई पटक-पटक ताकेता गरिए पनि अपेक्षित प्रगति हुन सकेको छैन।

पाथीभराको पर्यटनमा असर
पाथीभरा मन्दिर नेपालका प्रमुख धार्मिक गन्तव्यमध्ये एक हो। यहाँ हरेक वर्ष नेपाल र भारतबाट लाखौँ तीर्थयात्री दर्शनका लागि आउँछन्। तर, मुख्य सडक नै कच्ची हुँदा यात्रुहरूलाई निकै कठिनाइ हुने गरेको छ।

सडक स्तरोन्नति ढिलाइ हुँदा स्थानीय होटल, यातायात र पर्यटन व्यवसायसमेत प्रभावित भएको व्यवसायीहरू बताउँछन्। सडक समयमै निर्माण भएको भए पाथीभरा क्षेत्रको पर्यटन अझै विस्तार हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार