इजरायलले लेबनानमा गैरकानुनी रूपमा सेतो फस्फोरस प्रयोग गर्‍यो : ह्युमन राइट्स वाच

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

ह्युमन राइट्स वाचले यो महिनाको सुरुमा दक्षिणी लेबनानको आवासीय क्षेत्रमा इजरायलले सेतो फस्फोरस प्रयोग गरेको प्रमाण फेला परेको बताएको छ । न्युयोर्कमा मुख्यालय रहेको सो अधिकार समूहले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै सेतो फस्फोरसको प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत भएको बताएको छ । 

मार्च ३ मा दक्षिणी लेबनानको ‘योहमोर’का आवासीय क्षेत्रमा गरिएको आक्रमणसम्बन्धी सात तस्बिरको अध्ययनले त्यहाँ सेतो फस्फोरस हतियार प्रहार गरिएको पुष्टि भएको ह्युमन राइट्स वाचले बताएको हो । आक्रमणपछि त्यस भेगका कम्तीमा दुई घरमा आगो लागेको थियो । 

‘इजरायली सेनाले आवासीय क्षेत्रमा सेतो फस्फोरसको गैरकानुनी प्रयोग गर्नु अत्यन्तै चिन्ताजनक कुरा हो । यसले आमनागरिकलाई गम्भीर असर गर्छ । सेतो फस्फोरसको आगजनी प्रभावले मृत्यु वा गम्भीर चोटपटक लाग्न सक्छ, जसले जीवनभर पीडा दिन सक्छ,’ ह्युमन राइट्स वाचका लेबनानी अनुसन्धानकर्ता रम्जी कैसले भने । 

सेतो फस्फोरसको प्रयोगले युद्धका वेला आमनागरिकमाथि हानि नपुर्याउन आवश्यक सबै सावधानी अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन हुन्छ । फस्फोरस खुला हावामा हुने अक्सिजनको सम्पर्कमा आउँदा प्रज्ज्वलित हुन्छ, छेउछाउका घर, कृषि क्षेत्र र मानिसकै शरीर ह्वार्र बल्न थाल्छ । 

ह्युमन राइट्स वाचले मार्च ३ मा लेबनानी मिडियामा आएका तस्बिरलाई प्रमाणीकरण गर्दै ती तस्बिर खिचिएको भौगोलिक स्थान निर्धारण गर्यो । त्यसपछि तिनले त्यस दिन योहमोर क्षेत्रमा कम्तीमा दुईपटक फस्फोरस बोक्ने उपकरण आवासीय क्षेत्रमा आकाशमा विस्फोट भएको पुष्टि गर्यो । 

ह्युमन राइट्स वाचले यो अध्ययनपछि इजरायलका प्रमुख सहयोगी संयुक्त राज्य अमेरिका, बेलायत र जर्मनीसँग इजरायललाई सैन्य सामग्री बिक्री रोक्न र गम्भीर अपराधमा संलग्न अधिकारीमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ । 

सुझावित समाचार