- १४–१६ मार्चमा काठमाडौंमा हुने अधिवेशनमा अनलाइन मनोनयनको व्यवस्था, चार हजार प्रतिनिधि आउँदै, उद्घाटन राष्ट्रपतिबाट र समापन प्रधानमन्त्रीले गर्ने तय
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन नसर्ने भएको छ । मध्यपूर्वमा जारी तनावकैबिच एनआरएनए अधिवेशन आगामी १४ देखि १६ मार्चसम्म काठमाडाैँमा हुने भएको छ । कतिपय पदाधिकारी तथा आसन्न निर्वाचनका प्रतिस्पर्धीले महाधिवेशन सार्नुपर्ने आवाज उठाएका थिए । तर, आवश्यक तयारी भइसकेका कारण निर्वाचन नसर्ने भएको एनआरएनएका अधिकारीहरूले बताएका छन् ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीले अधिवेशन तोकिएकै मितिमा हुने बताए । ‘अधिवेशनको तयारी अन्तिम अवस्थामा पुगेको छ, अब चुनाव सर्दैन, तोकिएकै मितिमा हुन्छ,’ उनले भने, ‘उद्घाटन, छलफल, बन्दसत्र तथा समापनसम्मका सबै कार्यक्रम तय भइसकेका छन् ।’ सुरुमा २३ देखि २५ फेब्रुअरीसम्मका लागि तय भएको एनआरएनए महाधिवेशन एक महिना पर धकेलिएको थियो । एनआरएनएको बृहत् एकतापश्चात् गठित स्टेरिङ कमिटीको २ माघको बैठकले अधिवेशन १४ देखि १६ मार्चसम्म गर्ने निर्णय गरेको थियो । काठमाडौंस्थित सोल्टी होटेलमा गरिने तय भएको अधिवेशनका लागि निर्वाचन समितिले प्रारम्भिक मतदाता नामावली तथा निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । अहिले एनआरएनएहरू काठमाडौंमा आउन थालिसकेका छन् ।
यसैबिच परराष्ट्र मन्त्रालयको आयोजनामा एनआरएनए अधिवेशनका विषयमा मंगलबार उच्चस्तरीय बैठक गरिएको छ । काठमाडौंमा भएको बैठकमा परराष्ट्रमन्त्री बलानन्द शर्मा, एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठलगायत व्यक्ति तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
बैठकमा आगामी १२औँ महाधिवेशन तथा एनआरएनए ग्लोबल सम्मेलनको तयारी, आवश्यक समन्वय तथा बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल भएको एनआरएनए सचिवालयले जनाएको छ । सम्मेलनमा विश्वभरबाट करिब चार हजार प्रतिनिधि (डेलिगेट) सहभागी हुने अपेक्षा गरिएको छ ।
बैठकमा परराष्ट्रमन्त्री शर्माले आगामी १२औँ एनआरएनए महाधिवेशन तथा विश्व सम्मेलनले एनआरएनएमा देखिएका समस्या तथा चुनौतीको समाधान गर्ने विश्वास व्यक्त गरे । परराष्ट्र सचिव अमृतबहादुर राईले एनआरएनलाई साझेदार संस्थाका रूपमा लिने दृष्टिकोण अपनाइने बताउँदै आसन्न सम्मेलन सफल बनाउन पूर्ण सहयोग गरिने बताए ।