पश्चिम एसिया क्षेत्रमा सुरु भएको युद्धका कारण समस्यामा परेका ६१ हजार ९८९ नेपालीले सहयोग र उद्धारका लागि विवरण दर्ता गराएका छन्। त्यसरी दर्ता भएका विवरणहरू अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
युद्ध प्रभावित देशहरूमा रहेका नेपालीलाई सहयोग गर्न कन्सुलर सेवा विभागले एक साताअघि अनलाइन दर्ता प्रणाली बढाएको हो । ‘पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि मन्त्रालय र त्यहाँस्थित नेपाली नियोगहरू सक्रिय रहेका छन्,’ परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुरूप, समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय भइरहेको छ ।’
परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित इमर्जेन्सी रेसपन्स टिम (इआरटी) को दोस्रो बैठक मंगलबार परराष्ट्र मन्त्रालयमा बसेको छ। बैठकमा पश्चिम एसियाको पछिल्लो अवस्थाका सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित संरक्षणका विषयमा नेपाल सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि आवश्यक समन्वय र पहललाई निरन्तरता दिने, हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने, मन्त्रालयमा सञ्चालनमा ल्याइएका इमर्जेन्सी रेस्पन्स टिम तथा नियोगहरूसँग सम्पर्कमा आएका नेपाली नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनेलगायतका विषयमा छलफल भई आवश्यक निर्णयहरू गरिएको मन्त्रालयले जनाएको छ ।
‘नेपाली राजदूतावास तथा महावाणिज्यदूतावासहरू पूर्ववत् रूपमा खुला रहेका छन् । तसर्थ, राहदानीलगायत अत्यावश्यक सेवाका लागि सेवाग्राहीहरूले नियोगमा सम्पर्क गर्न सक्नुहुनेछ । त्यसैगरी, हवाई उडान तालिकासम्बन्धी जानकारीका लागि नियोगहरूका अपडेट्स तथा सूचनाहरूमार्फत जानकारी लिन सक्नुहुनेछ,’ मन्त्रालयले भनेको छ, ‘सम्बन्धित मुलुकका सरकारहरू तथा नेपाली नियोगहरूले नियमित रूपमा सूचना तथा एडभाइजरीहरू जारी गरिरहेका हुनाले सूचना, जानकारी तथा सुरक्षासम्बन्धी सावधानीका मापदण्ड र उपायहरूबारे सचेत र सजग रहन पुनः अनुरोध गरिएको छ ।’
प्रभावित क्षेत्रमा रहेका कुनै नेपाली नागरिकलाई कुनै समस्या आइपरेमा मन्त्रालयको इमर्जेन्सी रेस्पन्स टिमका टेलिफोन नम्बरहरू वा इमेल र सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।
गत १६ चैतमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर त्यहाँका सर्वाेच्च नेता अली खामेनीसहित ३० जना वरिष्ठ अधिकारीको हत्या गरेपछि मध्यपूर्व तथा पश्चिम एसियालाई युद्ध बढेको छ। इरानले अमेरिकाको सैन्य बेस रहेका खाडी देशमा जवाफी हमला गरेपछि त्यहाँका नेपालीहरू प्रभावित भएका छन्। सो युद्धमा युएईमा रहेका एक नेपालीले ज्यान गुमाएका छन्।
ती देशमा रहेका नेपाली मात्र नभई हवाई सेवा प्रभावित हुँदा ट्रान्जिटमा रहेका नेपालीसमेत समस्यामा परेका छन्। ११ दिन हुँदा पनि अझै युद्ध रोकिनेसंकेत देखिएको छैन ।