रास्वपाको जितमा कुलमान घिसिङको बधाई

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिएका छन्। उनले नयाँ सरकारले देशमा सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै घिसिङले आगामी सरकारबाट हुने सकारात्मक काममा आफ्नो पार्टीले साथ दिने बताएका छन्। साथै, जनहितविपरीत कुनै कदम चालिएमा सडकबाटै रचनात्मक रूपमा खबरदारी गर्ने चेतावनी पनि दिएका छन्।

घिसिङले जनताले परिवर्तन, सुशासन र आर्थिक समृद्धिको अपेक्षासहित रास्वपालाई ठुलो जनमत दिएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै परिणाममुखी शासन सञ्चालन गर्न आग्रह गरेका छन्।

निर्वाचन परिणामबारे प्रतिक्रिया दिँदै उनले उज्यालो नेपाल पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन्। आफ्ना नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले लोडसेडिङ अन्त्यजस्ता उपलब्धिबाट जनताको विश्वास जितिएको भए पनि यसपटक मतपरिणाम आफ्नो पक्षमा नआएको बताएका छन्।

उनका अनुसार निर्वाचनमा पराजय हुनु प्राविधिक विषय मात्र भएको र छोटो समयमै मतदाताबाट प्राप्त माया, विश्वास र सदभाव आगामी राजनीतिक यात्राका लागि ऊर्जा र मार्गदर्शन बनेको छ। परिणामबाट निराश नभई उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

सुझावित समाचार