मधेश प्रदेशको निर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?
०६४ तिर उदाएका क्षेत्रीय शक्तिको अवस्था केही तलमाथि हुँदै आए पनि उनीहरू बलियो स्थितिमै थिए । तर, जेन–जी आन्दोलनपछिको परिदृश्यमा मधेशको राजनीतिक मैदानमा शून्यता सिर्जना भयो । मधेशको भूगोल सानो भए पनि यहाँको प्रतिनिधित्वको संख्या ठुलो छ । यही भूगोललाई रास्वपा र कांग्रेसले रणनीतिक रूपमा प्रयोग गरे ।
रास्वपाले मधेशीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्यो । कांग्रेसले पनि सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर मधेशबाटै उठायो । गगनले मधेशलाई मूलधारमा जोड्ने आफ्नो नीति अघि सारे पनि त्यसअघि नै बालेन र घन्टी मधेशीको मनमा बसिसकेका थिए । कांग्रेसले मधेशी जनताले बुझ्ने भाषामा आफ्ना दीर्घकालीन महत्वका नीति र रणनीति सम्प्रेषण गर्नै भ्याएन । एमाले त पहिल्यैदेखि मधेशमा रक्षात्मक स्थितिमै थियो । समग्रमा यसैको प्रतिबिम्ब हो, अहिलेको परिणाम ।
मधेशमा मधेशकै मुद्दा बोक्ने दलहरू यसरी शून्यमा झर्नुको कारण के हुन सक्छ ?
विगतमा संविधान निर्माण प्रक्रियाप्रति असहमतिको आन्दोलन विनाकुनै उपलब्धि टुंगियो । मधेशका क्षेत्रीय शक्तिले त्यहाँका नारा र मुद्दालाई सत्तासित साटे । पालिका र प्रदेशमा उनीहरूका प्रतिनिधि रहँदा पनि जनताले सुशासन पाएनन् । तीनै तहका सत्तामा रहँदा क्षेत्रीय शक्तिले आफ्ना नारा र एजेन्डा बिर्सिंदै गए । उनीहरूले पनि कांग्रेस, एमालेकै विकृति र विसंगतिलाई अँगाले । आफ्ना एजेन्डा बिर्सिएकाले मधेशी जनताले तिनको साथ छाडेका हुन् ।
मधेशी दलहरूले के गरे भने राष्ट्रिय राजनीतिमा ‘कम ब्याक’ गर्न सक्लान् त ?
मधेशको राजनीति अहिले संवेदनशील मोडमा छ । ताजा र आफूहरू जोडिन सक्ने एजेन्डामा आधारित राजनीति मात्र जनताले स्विकार्छन् । बासी एजेन्डा र नारा लिएर आउने दललाई जनताले पत्याउँदैनन् । त्यसैले, काठमाडौंतिर गएको विश्वास फर्काउन नयाँ एजेन्डा र नारा लिएर आए भने क्षेत्रीय शक्ति पुनः उठ्न सक्छन् ।