पोखराले एनपिएलको पारिश्रमिक नदिएको निसिमको गुनासो

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

पोखरा एभेन्जर्सले १०औँ टी–२० विश्वकप फाइनलमा न्युजिल्यान्डका जिमी निसिमले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशंसा गर्यो । पोखराले सामाजिक सञ्जालमा दिएको बधाईको प्रत्युत्तरमा निसिमले एनपिएलमा अझै पारिश्रमिक नपाएको गुनासो गरे । 

राति निसिमको कमेन्ट हटेको छ, कुरा बुझेपछि निसिम आफैँले कमेन्ट हटाएको पोखराको दाबी ।

न्युजिल्यान्डका बायाँ हाते फास्टबलर जिमी निसमले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आफ्नो पारिश्रमिक नपाएको गुनासो गरेका छन् । भारतमा आइतबार सम्पन्न १०औँ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्ड उपविजेता बनेको थियो । न्युजिल्यान्ड टी–२० विश्वकपमा दोस्रोपटक उपविजेता बनेपछि एनपिएलको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले निसिम र न्युजिल्यान्डको खुलेर प्रशंसा गरेको थियो । पोखराले आफ्नो इन्स्टाग्राममा लेखेको छ, ‘हाम्रा खेलाडी जिमी निसिमले विश्वकप फाइनलको १६औँ ओभरमा उत्कृष्ट प्रदर्शन गरेको छ । भारतविरुद्ध तीन विकेट, एक रन तथा दुई डट बल फ्याँकेर निसिमले उत्कृष्ट स्पेल गर्न सफल रह्यो ।’ पोखराले निसिमको उत्कृष्ट प्रदर्शन भए पनि न्युजिल्यान्ड दुर्भाग्यपूर्ण दोस्रो स्थानमा सीमित भएको उल्लेख गरेको छ । 

पोखराले पोखरा एभेन्जर्सबाट दोस्रो एनपिएल खेलेको आफ्ना खेलाडी निसिमप्रति गर्व भएको जनाएको छ । पोखराले न्युजिल्यान्ड र आफ्ना खेलाडीको प्रदर्शन गरेको केही समयपछि निसिमले आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूले नेपाल प्रिमियर लिग खेल्दा पारिश्रमिक नपाएको पहिलोपटक खुलासा गरेका छन् । निसिमले भनेका छन्, ‘कुल, पे योर प्लेयर्स, ठिक छ आफ्नो खेलाडीको पैसा तिर ।’ 

पोखराका एभेन्जर्सका मुख्य लगानीकर्ता सुबोध त्रिपाठीले न्युजिल्यान्डका खेलाडी निसिमको पारिश्रमिक दिन आफूहरू तयार भएको बताए । ‘हामी निसिमको एनपिएलमा आबद्ध भएबापत दिनुपर्ने पारिश्रमिक दिन तयार छ । नेपालको प्रशासनिक प्रक्रियाको ढिलाइले समस्या विदेशी खेलाडीहरूको पारिश्रमिक दिन ढिलाइ भएको हो,’ त्रिपाठीले भने, ‘हामीले तत्कालै खेलाडीसँग पनि वार्ता गरिरहेका छौँ । सम्भवतः केही दिनभित्र नै रकम उसले पाउनेछन् ।’ 

पोखराको पोस्टमा गरेको कमेन्ट सोमबार राति भने हटेको छ । कुरा बुझेपछि निसिम आफैँले कमेन्ट हटाएको पोखराको दाबी छ । राष्ट्रिय खेलकुद परिषद्को प्रशासनिक प्रक्रिया र सदस्य सचिव फेरिँदाले पनि रकम तिर्नु समस्या भएको पोखराले जनाएको छ । ‘निसिमको केवल १५ प्रतिशत मात्र पारिश्रमिक दिन बाँकी छ । फेरि यो डलरमै सबै कारोबार हुने भएकाले पनि केही प्राविधिक कठिनाइ सामना गर्नुपरेको छ,’ पोखराले भनेको छ, ‘सबै प्रक्रिया पूरा गरेर छिैट्ट खातामा बाँकी रकम जम्मा हुनेछ ।’ पोखराले निसिमको सम्झौता रकम खुलाएको छैन । 

प्रक्रियागत रूपमा ढिलाइ भएको हो 
 सुबोध त्रिपाठी, पोखरा एभेन्जर्स

पोखराले आफ्ना विदेशी खेलाडीको पारिश्रमिक दिन कुनै समस्या छैन । नेपालको कानुनी प्रक्रियागत पक्षले ढिलाइ भएको पक्का हो । सुरुमा राष्ट्र बैंकको अनुमति नचाहिने भनियो । पछि हामीले कारोबार गर्ने ग्लोबल आइएम बैंकले अनुमति चाहिन्छ भन्यो । त्यसपछि हामी राष्ट्रिय खेलकुद परिषद्मा गयौँ । परिषद्ले मुद्दाको विषय लिएर अनुमति दिन ढिलाइ गरेको छ । यसबिच निर्वाचनले कार्यालय बन्द भयो । हामी छिट्टै निसिमको बाँकी १५ प्रतिशत पारिश्रमिक उनको खातामा जम्मा गर्छौँ ।

दोस्रो एनपिएलमा औसत प्रदर्शन
गत नोभेम्बर र डिसेम्बरमा त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एनपिएलमा न्युजिल्यान्डका निसिमले पोखराबाट प्रतिस्पर्धा गरेका थिए । उनको ब्याटिङ र बलिङमा औसत प्रदर्शन रह्यो । प्रतियोगितामा उनले चारपटक ब्याटिङ गरे । जसमा एक अर्धशतकको सहयोगमा उनले समग्रमा ९९ रन जोडेका थिए । एनपिएलमा उनले पाँच चौका र आठ छक्का प्रहार गरेका थिए । दोस्रो एनपिएलमा धेरै रन बनाउने सूचीमा उनी ३८औँ स्थानमा रहे । बलिङ क्रममा उनले चारै खेलमा बलिङ गरेका थिए । २१३ ओभर बलिङ गर्ने अवसर पाएका उनले पाँच विकेट लिएका थिए । 

भारतविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन
नरेन्द्र मोदी रंगशालामा भारतले पहिलो ब्याटिङ गरी कीर्तिमानी रूपमा २५५ रनको योगफल खडा गरेको थियो । इनिङ्सको १५औँ ओभरसम्म भारत निकै बलियो स्थितिमा थियो । यो अवस्थाबाट भारत सहजै तीन सय रन योगफल कटाउने अग्रसर भइसकेको थियो । त्यसैवेला इनिङ्सको १६औँ ओभरमा निसिमले बलिङ अवसर पाए । उनले यसै ओभरमा भारतका महत्वपूर्ण तीन विकेट हात पारी भारतमाथि दबाब बनाए । यो ओभरमा उनले सञ्जु सामसन (प्रतियोगिताकै म्यान अफ दी सिरिज) ईशान किसन तथा सूर्यकुमार यादवको विकेट लिएका थिए । अघिल्लो स्पेलमा कसिलो बलिङ गरेका उनले इनिङ्सको अन्तिम ओभर बलिङ गर्ने मौका पाए । तर, यस ओभरमा शिवम दुवेले तीन चौका र दुई छक्का प्रहार गरी २२ रन बटुले । 

१०औँ विश्वकपमा निसिमले चार खेलमा बलिङ गरेका थिए । जसमा उनले भारतविरुद्ध ४६ रन खर्चेर तीन विकेट लिए । फाइनलमा उनले आठ रन जोडे । यसैगरी, दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले १५ रन दिएर एक विकेट लिनुका साथै २३ रनको नटआउट इनिङ्स खेले । समूह चरणमा क्यानडा र सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध उनले एक समान एक विकेट लिएका थिए ।

सुझावित समाचार