सोमबार १० बजेसम्मका प्रमुख १० खबर

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

मोदीद्वारा रवि र बालेनलाई टेलिफोनमा बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत रास्वपा वरिष्ठ नेता बालेन शाहसँग सोमबार टेलिफोन कुराकानी गरेका छन्।

मोदीले साँझ सामाजिक सञ्जाल एक्समार्फत दुई नेतासँग टेलिफोन वार्ता गरेको सार्वजनिक गर्दै नयाँ सरकारका लागि शुभकामना दिएका छन्। फागुन २१ को निर्वाचनमा रास्वपाले करिब दुईतिहाइनजिक सिट जितेर सरकार गठनको तयारीमा लागिरहेका वेला भारतीय प्रधानमन्त्रीले नेताद्वयलाई टेलिफोन गरेका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहसँग हार्दिक टेलिफोन संवाद भयो। नेपालको निर्वाचनमा उहाँहरूको विजय तथा रास्वपाको प्रभावशाली सफलताप्रति दुवै नेताहरूलाई बधाई दिएँ,’ मोदीले सोमबार साँझ भनेका छन्, ‘आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत र नेपालको पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि भारत प्रतिबद्ध रहेको सन्देश पनि दिएँ।’ मोदीले थप भनेका छन्, ‘हाम्रा संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेमा म विश्वस्त छु।’

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

आज सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ निष्क्रिय हुने भएको छ। निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनका लागि माघ ४ देखि आचारसंहिता लागू गरेको थियो।

निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था मिति २०८२/१०/०४ गते राति १२ बजेदेखि अर्को सूचना प्रकाशन नभएसम्म लागू गर्ने निर्णय भएकोमा निर्वाचन आचारसंहिता, २०८२ मिति २०८२/११/२५ गते राति १२ बजेदेखि लागू नरहने,’ आयोगले विज्ञप्तिमार्फत जनाएकाे छ।

बालेन शाहको चुनाव खर्च १४ लाख

झापा ५ बाट निर्वाचित भएका रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनाव खर्च निर्वाचन कार्यालयमा बुझाएका छन्। प्रतिनिधिमार्फत उनले सोमबार खर्च विवरण बुझाएका हुन्। 

उनको विवरणअनुसार निर्वाचनमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ। 

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरी उनी निर्वाचित भएका हुन्। 

हामी ढलेका मात्र हौँ, मरेका होइनौँ : योगेश भट्टराई

नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले गुटकाे घेराबाट निस्केर पार्टीमा खुलस्त बहसका लागि आह्वान गरेका छन्। 

निर्वाचनमा पराजयपछि आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘हामी ढलेका मात्र हौँ, मरेका होइनौँ ।’ 

मूलतः पार्टी नेतृत्वको कमजोरीका करण चुनावमा असफलता मिलेको भन्दै सामूहिक पहलबाट बदल्न सकिने  उनको भनाइ छ । 

फेसबुकमार्फत उनले भनेका छन्, ‘पार्टीले सामना गर्नुपरेको अवस्था र असफलता सिंगो पार्टीको असफलता हो । सामूहिक बुद्धि–विवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ, म सबै नेता कमरेडहरू र सिगो पार्टीपंक्तिलाई हिजोका गुट (समूह) काे घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु ।’ 

राष्ट्रिय सभाका नयाँ सदस्यले लिए शपथ

राष्ट्रिय सभाका नयाँ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्।

५९ सदस्यीय राष्ट्रिय सभामा एकतिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। जसअनुसार गत माघ ११ गते भएको निर्वाचनबाट १८ जना नयाँ सांसद चुनिएका थिए।

धनुषा १ मा नेकपाका मातृका यादव विजयी घोषणा

निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरेको छ। मतगणना गरेर पनि नतिजा रोकिएकोमा सोमबार साँझ प्रमाणपत्र दिइएको हो। 

 सोमबार बसेको आयोगको पूर्ण बैठकले धनुषा १ को परिणाम सार्वजनिक नगर्दा समग्र निर्वाचन परिणाममै असर पर्ने र यसले नयाँ सरकार गठनमै ढिलाइ हुने भन्दै सार्वजनिक गर्न निर्देशन दिएको हो। आयोगले धनुषा १ को सन्दर्भमा सर्वाेच्च अदालतले सोमबार पेसी तोकी छलफलका लागि बोलाएको र पछि कुनै आदेश भएमा सोहीबमोजिम हुने गरी हाललाई परिणाम सार्वजनिक गर्ने निर्णय गरेको कानुन महाशाखा प्रमुख यज्ञ भट्टराईले जानकारी दिए । 

सुन तोलामा तीन हजार सात सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले घटेर तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा तीन लाख १६ हजार नौ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ६५ रुपैयाँले घटेर तोलामा पाँच हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी तोलाको पाँच हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले निर्वाचन आयोगले खारेज गरेको धनुषा १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगलाई सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो।

कालोसूचीमा परेको उजुरीपछि आयोगले फागुन १८ मा उम्मेदवारी खारेज गरेको थियो। मतगणना सकिए पनि मुद्दा विचाराधीन भएकाले परिणाम सार्वजनिक गरिएको छैन। अन्तरिम आदेश दिने विषयमा छलफलका लागि फागुन २९ गते पेसी तोकिएको छ।

नयाँ संसद् भवन निर्माणकाे चटाराे [तस्बिरहरू]

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भई नयाँ जनप्रतिनिधिहरू चुनिएर आउने क्रम जारी रहँदा सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माणले भने पूर्णता पाउन सकेको छैन।

नयाँ संसद्को पहिलो बैठक आफ्नै भव्य भवनमा बसाल्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिए पनि मुख्य हलको काम भने बाँकी नै छ। संसद् सचिवालयका अनुसार बैठक सञ्चालन गर्न हाललाई विकल्पका रूपमा बहुउद्देश्यीय हलको काम सक्ने गरी तीव्रता दिइएको छ।

कांग्रेस र एमालेबिच समानुपातिक मतको अन्तर बढ्यो

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा(एमाले) यसपटक तेस्रो बनेको छ। समानुपातिकतर्फ नेपाली कांग्रेसले पनि एमालेलाई पछि पारेको छ। 

आयोगको पछिल्लो मतपरिणामअनुसार ९८ लाख ७८ हजार ४५२ मत गणना सकिएको छ। जसमा रास्वपाले ४७ लाख ५६ हजार ७७६ मत ल्याएको छ। 

दोस्रो स्थानमा रहेको कांग्रेसले १५ लाख ९७ हजार ७७० मत छ भने एमालेको १३ लाख ३३ हजार ९९५ मत छ। कांग्रेस र एमालेबिचको मतान्तर २ लाख ६४ हजार ३७५ छ। यस हिसाबले एमालेले भन्दा कांग्रेसले समानुपातिकतर्फ पनि तीन सिट बढी जित्ने सम्भावना छ। 

सुझावित समाचार