निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरेको छ। मतगणना गरेर पनि नजिता रोकिएकोमा सोमबार साँझ प्रमाणपत्र दिइएको हो।
सोमबार बसेको आयोगको पूर्ण बैठकले धनुषा १ को परिणाम सार्वजनिक नगर्दा समग्र निर्वाचन परिणाममै असर पर्ने र यसले नयाँ सरकार गठनमै ढिलाइ हुने भन्दै सार्वजनिक गर्न निर्देशन दिएको हो। आयोगले धनुषा १ को सन्दर्भमा सर्वाेच्च अदालतले सोमबार पेसी तोकी छलफलका लागि बोलाएको र पछि कुनै आदेश भएमा सोहीबमोजिम हुने गरी हाललाई परिणाम सार्वजनिक गर्ने निर्णय गरेको कानुन महाशाखा प्रमुख यज्ञ भट्टराईले जानकारी दिए ।
‘अदालतबाट आज पेसी तोकिएको थियो। आज कुनै पनि आदेश भएन। छलफलको लागि बोलाएको र छलफलको मिति पछि (२९ गते) भएकोले धनुषा १ को परिणाम घोषणा नगर्दा समग्र निर्वाचन परिणामलाई असर पर्ने भएकोले सर्वाेच्चबाट अन्यथा आदेश भएमा सोहीबमोजिम हुने गरी हाललाई निर्वाचनको परिणाम घोषणा गर्नू भनेर निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको हो,’ उनले भने।
धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरीमा छानबिन गरी पुष्टि भएपछि आयोगले निर्वाचनअघि नै उनको उम्मेदवारी खारेज गरेको थियो। तर, २१ फागुनको मतदानमा साहले अत्यधिक मत पाएपछि विवाद हुँदा परिणाम होल्ड गरिएको थियो। उम्मेदवारी खारेज भएपछि साह रिट लिएर सर्वाेच्च गएका छन्। उनको रिटमा सोमबार सुनुवाइ भएकोमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि २९ गते पेसी तोकिएको छ।
आयोगले साहको उम्मेदवारी खारेज गर्दै त्यसपछि सबैभन्दा धेरै मत पाउनेलाई विजेता घोषणा गर्नेछ। धनुषा १ मा नेकपामा मातृका यादव १० हजार ४२८ मतसहित अगाडि छन्। कांग्रेसका रामपल्टन साहले ९ हजार ४८५ मतसहित दोस्रोमा छन्। ९४३ को मतान्तर छ।
सबैभन्दा धेरै रास्वपाकै साहले मत ल्याए पनि उनको उम्मेदवारी खारेज भइसकेकाले यादव विजयी भएका हुन्।