काठमाडौंमा वायु प्रदूषण बढ्दै: स्वास्थ्य मन्त्रालयको सतर्कता अपनाउन आग्रह

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा वायु प्रदूषणको स्तर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपत्यकामा बढ्दो वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक भएको छ। वायु प्रदूषणका कारण मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी विभिन्न समस्या देखिन सक्ने उनले बताए।

विशेष गरी दीर्घरोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई वायु प्रदूषणले बढी असर गर्ने भएकाले सकेसम्म घरबाहिर ननिस्कन मन्त्रालयले आग्रह गरेको छ। श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग भएका व्यक्तिहरूले अझ बढी सावधानी अपनाउनुपर्ने मन्त्रालयको सुझाव छ।

मन्त्रालयले अत्यावश्यक कामबाहेक बिहान र बेलुका बाहिर ननिस्कन तथा बाहिर निस्कनै परे अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ।

प्रवक्ता बुढाथोकीका अनुसार पुराना सवारीसाधनबाट निस्कने धुवाँ, वनमा लागेको डढेलो, उद्योगधन्दा तथा निर्माण कार्यबाट उठ्ने धुलोधुवाँका कारण प्रदूषण बढेको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा अझै करिब एक हप्ता प्रदूषणको असर रहने सम्भावना छ। प्रदूषणकै कारण उपत्यकाको आकाश धुम्म देखिएको छ र घामसमेत राम्रोसँग लाग्न सकेको छैन।

वातावरण विभागका अनुसार मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढिरहेको छ। विशेष गरी काठमाडौं, पोखरालगायत ठुला सहरमा हावामा रहेका मसिना कणहरूको मात्रा उल्लेख्य रूपमा बढेको जनाइएको छ।

सुझावित समाचार