धनकुटामा १३ उम्मेदवारको जमानत जफत, ६ जनाले सय मत कटाएनन्

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

धनकुटाबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएकामध्ये १३ जनाको जमानत जफत भएको छ। चुनावी मैदानमा उत्रिएका तीन स्वतन्त्रसहित १७ उम्मेदवारमध्ये  १३ जनाले सदर मतको १० प्रतिशत पनि मत कटाउन सकेनन्।

जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेकोमा ६४ हजार ४९० मत खसेको थियो। खसेको मतमा ४ हजार ८८३ मत बदर भए। सदर मतको १० प्रतिशत मत नपाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार १३ जनाको धरौटी जफत भएको हो।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धर्मराज पौडेलले एक हजार ६६५ मत मात्रै प्राप्त गरे। त्यस्तै स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले १ हजार १८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका वीभत्सु थापाले ७०३ र जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बूले ४३२ मत मात्र प्राप्त गर्दा जमानत जफत भएको छ।

यसैगरी, जनता समाजवादी पार्टीका निशान राईले २३८, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राईले २२१ र नेकपा माओवादीका रविनकुमार राईले १३२ मत मात्रै पाउँदा जमानत जोगाउन सकेनन्। ६ उम्मेदवारले त सय मत पनि कटाउन सकेनन्। सय मत नकटाउनेमा नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी (२२ मत), आम जनता पार्टीका प्रेमबहादुर थापा (५५ मत), स्वतन्त्र उम्मेदवार मनकुमार योञ्जन (५६ मत), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली (६५ मत), मंगोल नेशनल अर्गनाइजेशनका सागर राई (८२ मत) र स्वतन्त्र उम्मेदवार जितेन्द्र राई (९१ मत) छन्।

अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरी दोस्रो, श्रम संस्कृति पार्टीका सानबहादुर राई ११ हजार ९३२ मत प्राप्त गरेर तेस्रो र रास्वपाका दिनेश भण्डारी ९ हजार ९४४ मत प्राप्त गरी चौथो हुन सफल भए।

सुझावित समाचार