सुदूरपश्चिमका १६ मध्ये १० सिटमा रास्वपाको जित

कैलाली, कञ्चनपुरका आठ वटै क्षेत्रमा ‘क्लिन स्वीप’

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशअन्तर्गत तराईका दुई जिल्ला कैलाली–कञ्चनपुरमा ‘क्लिनस्विप’ गरेको छ । सुदूरपश्चिमका १६ मध्ये आधा निर्वाचन क्षेत्र यी दुई जिल्लामा पर्छन् । रास्वपाका उम्मेदवारले कैलालीका पाँच र कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा भारी मतान्तरसहित जित हासिल गरेका छन् । 

कैलाली क्षेत्र नम्बर १ मा कोमल ज्ञवाली, २ मा केपी खनाल, ३ मा जगतप्रसाद जोशी, ४ मा खेमराज कोइराला र क्षेत्र नम्बर ५ मा आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । कैलाली १ मा ज्ञवाली १७ हजार १७ हजार ८२६ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरे ।

ज्ञवाली नागरिक उन्मुक्ति पार्टीबाट केही समयअघि मात्र रास्वपा प्रवेश गरेकी थिइन् । टीकापुर नगरपालिकाको प्रमुखबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका नेकपाका राममलाल डगौरा थारू तेस्रो भए भने एमालेका द्वारिकाप्रसाद न्यौपानेले धरौटी जोगाउन सकेनन् ।

क्षेत्र नम्बर २ मा निर्वाचित खनालले १९ हजार ५७ मत पाए भने नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरी ११ हजार ९४९ मत ल्याएर निकटतम प्रतिस्पर्धी बने । ३ मा २० हजार ३५९ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीले ११ हजार ९८३ मत पाए ।  क्षेत्र नम्बर ४ मा कोइराला २८ हजार ५५६ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरे । यो क्षेत्रमा एमाले उपमहासचिव लेखराज भट्ट नौ हजार ४४४ मतसहित तेस्रो भए ।

कैलाली ५ मा चन्द भारी मतान्तरसहित निर्वाचित भए । उनले ३१ हजार ९५३ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत पाए । यो क्षेत्रमा नेकपाका प्रेम आले तेस्रो हुँदा एमालेका यज्ञराज ढुंगानाले धरौटी जोगाउन सकेनन् । कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर निर्वाचित हुँदा नेकपाकी विना मगर ११ हजार ११० मत ल्याएर निकटतम प्रतिस्पर्धी बनिन् । क्षेत्र नम्बर २ मा दीपकराज बोहराले कांग्रेस नेता एनपी साउदलाई २३ हजार मतान्तरले पराजित गरे । बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दा साउदले १० हजार ८२७ मत पाए । 

निवर्तमान गृहमन्त्री रमेश लेखकको क्षेत्र कञ्चनपुर ३ मा रास्वपाकै ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका हरिप्रसाद बोहराले नौ हजार ४४३ मत प्राप्त गरे । गत निर्वाचनमा यी आठ सिटमध्ये कांग्रेसले चार, तत्कालीन नागरिक उन्मुक्ति पार्टीले तीन र एमालेले एक सिट जितेको थियो । रास्वपाले सुदूरपश्चिमका १६ मध्ये १० निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । रास्वपाले डडेलधुरा र बैतडीमा पनि जित हासिल ग¥यो ।

कांग्रेसले सुदूरपश्चिममा आफ्नो बलियो पकड भएका र प्रभावशाली नेताका क्षेत्र यसपालि गुमाएको छ । गत निर्वाचनमा सुदूरपश्चिमका आठ क्षेत्र जितेको कांग्रेस यसपालि तीन क्षेत्रमा खुम्चिएको छ । एमालेले तीन सिट जितेको छ ।  

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा पनि कांग्रेसले यसपालि गुमायो । रास्वपाले ३४ वर्षपछि कांग्रेसको गढ भत्काएको छ । रास्वपाका डा. ताराप्रसाद जोशी १९ हजार १३१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका नैनसिंह महर १२ हजार १२१ मतसहित निकटतम प्रतिस्पर्धी बने । देउवाले डडेलधुराबाट ०४८ सालयताका सातवटै संसदीय चुनाव जितेका थिए ।

अछाम, बाजुरा, बझाङ र दार्चुलामा भने रास्वपाको प्रभाव कम देखिएको छ । रास्वपाको लहरबिच कांग्रेस–एमालेले तीन–तीन सिट जित्दा सुदूरपश्चिममा नेकपा भने नील भएको छ । नेकपाका नेता भीम रावल अछाम क्षेत्र नम्बर १ मा पराजित भए । उनलाई कांग्रेसका भरतकुमार स्वाँरले पराजित गरे । स्वाँरले १० हजार ७५९ र रावलले १० हजार २३३ मत पाए । रास्वपाका ओमप्रकाश रावल एक हजार ७३९ मतसहित चौथो भए ।

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी २२ हजार १३४ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत पाए । दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मतसहित निर्वाचित भए । कांग्रेसका धर्मानन्द जोशी १५ हजार ८३६ मत ल्याएर दोस्रो भएका छन् । बझाङमा एमालेकै ऐनबहादुर महर निर्वाचित भए । महर १८ हजार ५४३ मतसहित निर्वाचित हुँदा कांग्रेसका प्रकाश स्नेहीले १६ हजार ३०४ मत पाए । बझाङमा नेकपा तेस्रो र रास्वपा चौथो भएको छ ।

डोटी र बाजुरामा कांग्रेसले जितेको छ । डोटीमा कांग्रेसका भरतबहादुर खड्का १४ हजार ८९७ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत पाए । बाजुरामा कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए । 

अछाम २ मा एमालेका यज्ञबहादुर बोगटी नौ हजार ५१८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पुष्पबहादुर शाहले नौ हजार ४६ मत पाए । यो क्षेत्रमा रास्वपाबाट उम्मेदवार बनेका बालेन शाहनिकट भूपदेव शाह चार हजार ५६२ मत ल्याएर चौथो भए ।
 

सुझावित समाचार