सिटी र चेल्सी एफए कपको क्वार्टरफाइनलमा

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

म्यानचेस्टर सिटी र चेल्सी एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । सिटीले न्यु क्यासल युनाइटेडलाई ३–१ ले पाखा लगाउँदै अन्तिम आठको स्थान रक्षा गरेको हो । चेल्सीले संघर्षपूर्ण खेलमा वेस्टह्यामलाई ४–२ ले पराजित गर्दै क्वार्टरफाइनल स्थान सुरक्षित गरेको हो । गत महिना लिग कपको सेमिफाइनलमा पनि न्युक्यासललाई हराएको सिटीले शनिबार न्युकासललाई निराश बनायो । एक गोलले पछि परेको अवस्थाबाट सिटीले पुनरागमन जित निकालेको हो । १८औँ मिनेटमा न्युकासलले अग्रता लियो । हार्भे बान्सले सान्द्रो टोनालीको पासमा न्युकासललाई १–० को अग्रता दिलाए । 

खेलको ३९औँ मिनेटमा सिटीले खेल बराबरी गर्यो । जेरिमी डोकुको क्रसमा साबिन्होले सिटीलाई १–१ को बराबरी गोल गरेका हुन्् । दोस्रो हाफ सुरु भएको दुई मिनेटमै सिटीले अग्रता लियो । म्याथियस नुनेसको कटब्याकमा डिबक्सभित्र मर्मुसले २–१ को अग्र्रता दिलाए । खेलको ६५औँ मर्मुसले पेनाल्टी क्षेत्रबाहिरबाट अर्को उत्कृष्ट गोल गरे । उनको गोलसँगै सातपटकको विजेता सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो । 

चेल्सी अन्तिम आठमा
वेस्टह्यामले चेल्सीलाई निर्धारित ९० मिनेटसम्म २–२ को बराबरीमा रोकेको थियो । खेलको १७औँ मिनेटमा साम स्मिथले वेस्टह्यामलाई १–० को अग्रता दिलाए । मध्यान्तरअघि नै चेल्सीले १–१ बराबरी गर्यो । अलेजान्द्रो गार्नाचोको सकीट प्रहार गोलरक्षक आर्थर ओकोन्क्वोला रोक्न नसक्दा चेल्सी बराबरीमा फर्किएको हो । खेलको ७८औँ मिनेटमा क्यालम डोयलले वेस्टह्यामलाई २–१ को अग्रता दिलाए । खेलको ८२औँ मिनेटमा जोस अचेआम्पोङले चेल्सीलाई २–२ को बराबरीमा ल्याए । अतिरिक्त समयमा अलेजान्द्रो गार्नाचो र जोआओ पेड्रोले गोल गरेपछि चेल्सीले ४–२ को जित निकाल्यो ।

आर्सनल अन्तिम आठमा 
आर्सनल एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आर्सनलले म्यान्सफिल्ड टाउनलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा यात्रा तय गरेको हो । आर्सनलका लागि पहिलो गोल नोनी मादुएकेले ४१औँ मिनेटमा १–० को अग्रता दिलाए । खेलको ५१औँ मिनेटमा म्यान्सफिल्डले खेल बराबरीमा ल्याएको थियो । विल इभान्सले आर्सनलका डिफेन्डरलाई झुक्याएर १–१ का लागि गोल गरेका हुन् । खेलको ६६औँ मिनेटमा एबेरेची एजेले आर्सनललाई २–१ को अग्रता दिलाए । 

बार्सिलोनाको ४ अंकको अग्रता
यामिन यमालको एक मात्र गोलको सहयोगमा स्पेनिस ला लिगामा बार्सिलोनाले शनिबार राति एथ्लेटिकलाई १–० ले पराजित गरेको छ । बार्सिलोनाले २७ खेलबाट ६७ अंक जोडेको छ । बार्सिलोनाले शीर्ष स्थानमा ४ अंकको अग्रता बनायो । दोस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ । १८ वर्षीय यामिनले ६८औँ मिनेटमा पेड्रीको पासमा गोल गरेका थिए । म्याड्रिडले शुक्रबार राति सेल्टाभिगोलाई हराउँदै बार्सिलोनासँगको अंक दूरी १ अंकमा झारेको थियो । एथ्लेटिक ३५ अंकसहित नवौँ स्थानमा छ । यामलको यो सिजनकै १९औँ गोल हो । गत साता उनले भिल्लारियालविरुद्ध करिअरकै पहिलो ह्याट्रिक गरेका थिए । पहिलो हाफमा बार्सिलोनाले पनि केही अवसर बनायो । फेरान टोरेसको प्रहार पोस्टमा लाग्यो । मार्कस रासफोर्डको प्रहारलाई गोलरक्षक सिमोनले रोके । 

See More On

सुझावित समाचार