महोत्तरीका चारै क्षेत्रमा रास्वपा विजयी

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

महोत्तरीका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले सहज जित हात पारेको छ। क्षेत्र नं १ मा ३४ हजार ६३६ मतसहित प्रमोदकुमार महतो विजयी हुँदा क्षेत्र नं २ मा ३२ हजार ७२२ मत ल्याएर दीपककुमार साहले बाजी मारे। यसैगरी, क्षेत्र नं ३ मा रास्वपाकै उज्वल झा ३२ हजार ४५१ तथा क्षेत्र नं ४ मा गौरी यादव ३० हजार १३२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

महोत्तरी १ मा १२ हजार ६२४ मतका साथ नेकपाका गिरिराजमणि पोखरेल दोस्रो र एमालेबाट २०७९ मा निर्वाचित लक्ष्मी महतो कोइरी ६ हजार ५९१ मतका साथ तेस्रो स्थानमा रहे। त्यस्तै क्षेत्र नं २ मा विगत दुई निर्वाचनदेखि प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्वमन्त्री शरत सिंह भण्डारीले १० हजार १९८ मत ल्याई दोस्रो भए। ९ हजार ७४५ मत ल्याएकी नेपाली कांग्रेसकी किरण यादव तेस्रो भइन्।

यता, क्षेत्र नं ३ मा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मुहमद रिजवान ५ हजार ९६९ मतका साथ दोस्रो हुँदा ४ हजार ७९० मत ल्याएका स्वतन्त्र उम्मेदवार राम आधार कापरले तेस्रो स्थानमा चित्त बुझाए। पछिल्लो दुई निर्वाचन जितेका जसपा नेपालका संरक्षक महन्थ ठाकुरले छोरी मीनाक्षी ठाकुरलाई उम्मेदवार बनाए पनि जसपा नेपालले आफ्नो वर्चस्व कायम राख्न सकेन। ठाकुरले पाँचौँ स्थानमा चित्त बुझाउनुपर्यो।

क्षेत्र ४ मा पनि पुराना नेताहरूले आफ्नो साख बचाउन सकेनन्। राजनीतिमा नवप्रवेशी गौरी यादवसँग पुराना नेताहरुले हार व्यहोरे। २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित भएकोमा यसपटक भने ६ हजार ९४४ मतका साथ तेस्रो स्थानमा चित्त बुझाउनु रपरेको छ। पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले ८ हजार ७४२ मत ल्याएर दोस्रो स्थानमा सीमित भएका छन्।

सुझावित समाचार