आइसिसी टी–२० विश्वकप फाइनल आज
आइसिसी टी–२० विश्वकप ७ फेब्रुअरीमा सुरु भई आज सम्पन्न हुँदै छ । फाइनलमा प्रतिस्पर्धा गर्दै छन्, दुईपटकको च्याम्पियन भारत तथा न्युजिल्यान्ड । खेल भारतको अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुनेछ । एक लाख ३० हजारभन्दा बढी घरेलु समर्थकमाझ भारत तेस्रोपटक उपाधि जित्ने योजनामा छ ।
न्युजिल्यान्ड भने पहिलो उपाधि जित्ने दाउमा छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड सन् २०२१ मा उपविजेता भएको थियो । यो नै उसको ठुलो उपलब्धि हो । यता, भारतले भने सन् २००७ र सन् २०२४ मा उपाधि जितिसकेको छ ।
भारतका कप्तान सूर्यकुमार यादवले घरेलु मैदानमा जित्न खेल्ने बताए । ‘हाम्रो खेलाडीलाई फाइनलमा कसरी प्रतिस्पर्धा गर्नुपर्छ थाहा छ । सबै खेलाडी मानसिक रूपमा तयार छन्,’ यादवले फाइनलअघि भने, ‘हामी घरेलु समर्थकमाझ राम्रो खेल्नेछौँ ।’
यसअघि न्युजिल्यान्डले कोलकाताको इडेन गार्डेनमा भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्यो । भारतले मुम्बईस्थित वानखेडे रंगशालामा इंग्ल्यान्डलार्य ९ रनले पराजित गरेको हो । दुई टिमले नै अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकासँग हार व्यहोरेको थियो । विश्वकपमा भारतले ८ खेल खेल्दा सात जित निकाल्यो । एक खेलमा हार व्यहोरेको छ । यता, न्युजिल्यान्डले आठ खेल खेल्दा पाँच मात्रै जित निकालेको छ भने दुई खेलमा हार्यो । एक खेल अनिर्णीत भयो ।
न्युजिल्यान्डका कप्तान मिचेल साटनरले फाइनल खेल भारतीय भूमिमा खेल्न उत्साहित भएको जानकारी गराए । ‘भारतसँग उसैको मैदानमा खेल्न खेलाडी उत्साहित छन्,’ उनले भने, ‘फाइनल खेल निकै चुनौतीपूर्ण हुन्छ । हामी तयार छौँ ।’ २० टिम सहभागी विश्वकपका शीर्ष आठ टिम अर्काे अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।
भारतको एउटै हार सुपर एटमा
भारतले विश्वकपको एउटै हार सुपर एटमा निकालेको छ । आयोजक भारतले पहिलो खेलमा कप्तान सूर्यकुमार यादवको ८४ रन मद्दतमा अमेरिकालाई २९ रनले पराजित गर्यो । समूहमै खेलमा नामिबियालाई ९३ रन तथा पाकिस्तानलाई ६१ रन तथा नेदल्यान्ड्सलाई १७ रनले पराजित गरेको थियो । सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएपछि भारत दबाबमा आयो । तर, जिम्बावेविरुद्ध ७२ रनको जित निस्किँदा र वेस्ट इन्डिजलाई पाँच विकेटले हराउँदा भारतको सेमिफाइनल यात्रा तय भएको थियो । सेमिफाइनलमा पनि सन्जु सामसन चम्किएपछि भारत सात रनको जित निकाल्न सफल भयो र लगातार दोस्रोपटक फाइनलमा स्थान बनायो । यद्यपि, भारतलाई २५३ रन जोगाउन निकै हम्मेहम्मे परेको थियो ।
न्युजिल्यान्डको सानदार कमब्याक
न्युजिल्यान्डको फाइनल यात्रा निकै रोमाञ्चक रह्यो । टोली समूह चरण र सुपर एटको खेलमा समान एक हार व्यहोर्न पुग्यो । समूहको पहिलो खेलमै अफगानिस्तानमाथि पाँच विकेटको जित निकाल्यो । दोस्रो खेलमा युएईलाई १० विकेटले हराएपछि सुपर एट सम्भावना बलियो बनाएको हो । तर, तेस्रो खेलमा टोली दक्षिण अफ्रिकासँग सात विकेटले हार व्यहोर्दा क्यानडाविरुद्धको अन्तिम खेल कुर्नुपर्यो । जहाँ टोली आठ विकेटको जित निकाल्न सफल भएको थियो । सुपर एटको पहिलो खेलमै पाकिस्तानविरुद्ध थियो र वर्षाको कारण रद्द भयो । दोस्रो खेलमा श्रीलंकालाई ६१ रनले हरायो । तेस्रो खेलमा इंग्ल्यान्डसँग चार विकेटले पराजित हुँदा पनि टोली सेमिफाइनल तय गर्न सफल भयो । सेमिफाइनलमा भने टोलीले दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
फाइनलअघि कप्तानका भनाइ
सूर्यकुमार यादव, कप्तान, भारत
२५० भन्दा माथि बढी रन बने निकै राम्रो हुनेछ । हामी यही भन्न सक्दैनौँ । तर, त्यसका लागि प्रयास गर्नेछौँ । त्यसका लागि सबै खेलाडी तयार छन् । इशान, दुबेलगायतले राम्रो खेलिरहेका छन् । त्यसले पक्कै फरक पर्नेछ । अर्सदीप बुमराह पनि राम्रा छन् । उनीहरू सहजै दबाब झेल्न सक्छन् । फाइनल खेल्दै गर्दा धेरै खेलाडीले आइसिसी र अन्य फाइनल खेलेका छन् । त्यसैले पनि फाइनल खेल्न दबाब हुनेछैन । परिस्थितिलाई हरेर खेल्न सक्ने खेलाडी भारतीय टिममा धेरै छन् ।
मिचेल साटनर, कप्तान, न्युजिल्यान्ड
भारतसँग उसैको मैदानमा खेल्न खेलाडी उत्साहित छन् । खेलाडीमा राम्रो माहोल छ । फाइनल एक मात्रै अन्तिम प्रतिस्पर्धा हो । त्यसका लागि सबै खेलाडी तयार छन् । हामीले अहमदाबादको पिच देखेका छैनौँ । तर, यहाँ धेरै रन बन्नेमा आशावादी छौँ । भारतका जसप्रित बुमराहसँग सजक छौँ । उनले १० विकेट लिइसकेका छन् । उनको योर्कर र बाउन्सर निकै चुनौती हुने गर्छ । विश्वकपको फाइनलको दबाब भने फरक हुनेछ ।
प्लेयर्स टु वाच
सन्जु सामसन (भारत)
लगातार दुई खेलमा प्रभावशाली प्रदर्शन गर्दै भारतका सन्जु सामसन सबैको नजरमा परेका छन् । सुपर एटको अन्तिम खेलमा वेस्ट इन्डिज तथा सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध उनले सानदार इनिङ्स खेले । शतकनजिक रहेर पनि टिमको जितको लागि खेलेका थिए । शतक बनाउन खासै केन्द्रित नहुँदा उनको चर्चा ह्वात्तै बढेको छ । उनले चार खेलमा २३२ रन बनाइसकेका छन् । जसमा वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन बनाए । त्यसक्रममा ५० बलमा १२ चौका र चार छक्का प्रहार गर्दै भारतलाई सेमिफाइनल पक्का गरे । इंग्ल्यान्डविरुद्ध ४२ बलमा ८९ रन बनाएका हुन् । फाइनलमा पनि सामसनको ब्याट त्यही लयमा रहने अपेक्षा गरिएको छ । ब्याटिङतर्फ सामसन महत्वपूर्ण रहँदा भारतले बलिङतर्फ जसप्रित बुमराह प्रमुख हतियार बनाएको छ । बुमराहले १० विकेट लिएका छन् । बुमराहअघि वरुण चक्रवर्तीले १३ विकेट लिएका छन् ।
फिन एलेन (न्युजिल्यान्ड)
दक्षिण अफ्रिकाविरुद्ध कीर्तिमानी शतक बनाएपछि ओपनिङ ब्याटर फिन एलेन सबैको नजरमा परेका छन् । न्युजिल्यान्डलाई उपाधि जिताउन सक्ने खेलाडीको रूपमा उनलाई हेर्न थालेको छ । एलेनले यस विश्वकपमा ८ खेल खेल्दै दुई सय ८९ रन बनाएका छन् । यसमा एक शतक सामेल छ । एलेनले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदा ३३ बलमै शतक बनाएका थिए । उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । त्यसअघि पाकिस्तानका सहिबजादा फर्हान (३८२ रन) र जिम्बावेका ब्रायन वेनेतले (२९२ रन)दोस्रो स्थानमा छन् । फाइनलमा एलेनले तीन रन मात्रै जोडे पनि यो विश्वकपमा सर्वाधिक धेरै रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लनेछन् । न्युजिल्यान्डले एलेनसँगै टिम साइफर्ट, ड्यारियल मिचेल, मार्क च्याम्पम्यान तथा रचिन रवीन्द्रबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ ।
