७८१ परियोजनामा एक खर्ब ३० अर्ब लगानी प्रस्ताव

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ को ६ महिनामा उद्योग क्षेत्रमा एक खर्ब ३० अर्ब दुई करोडबराबरको लगानी प्रस्ताव आएको छ । उद्योग विभागले तयार गरेको दोस्रो त्रैमासिक प्रगति विवरणले यस्तो देखाएको हो । विभिन्न सात सय ८१ वटा उद्योग तथा परियोजनामा सोबराबरको लगानी प्रस्ताव भएको हो । 

गत आवको पहिलो ६ महिनामा तीन सय ३८ उद्योगमा एक खर्ब दुई अर्ब ९९ करोड रुपैयाँबराबरको लगानी प्रस्ताव आएको थियो । तर, चालू आवको सात महिनामा त्योभन्दा धेरै लगानी प्रस्ताव आएको छ । समीक्षा अवधिमा ३४ ठुला, ३५ मझौला र सात सय १२ वटा साना उद्योगमा सोबराबरको लगानी प्रस्ताव आएको हो । यसबाट ३२ हजार ६ सय २७ रोजगारी सिर्जना हुने दाबी गरिएको छ । तथ्यांकअनुसार विदेशी लगानीतर्फ ३९ अर्ब २३ करोड रुपैयाँबराबरको चार सय ७५ परियोजना स्वीकृति भएका छन् । त्यसमा २० हजार एक सय २२ रोजगारी सिर्जना भएको छ । 

कुन क्षेत्रमा कति लगानी ?
तथ्यांकअनुसार कृषिका १७ उद्योगमा २४ अर्ब ८३ करोड ३१ लाख २८ हजार लगानी प्रस्ताव गरिएको छ, त्यसमा सात हजार ६४ रोजगारी प्रस्ताव गरिएको छ । ऊर्जाका १५ परियोजनामा २० अर्ब ६८ करोड ५८ लाख ६८ हजार रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । त्यसमा चार सय १५ जनालाई रोजगारी सिर्जना हुने तथ्यांकमा उल्लेख छ ।

यसैगरी, सूचना प्रविधिका तीन सय ५९ परियोजनामा एक अर्ब ५२ करोड ३९ लाख ७७ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । त्यसमा चार हजार चार सय ७९ जनालाई रोजगाारी सिर्जना हुने बताइएको छ ।

यस्तै, उत्पादनका ८४ परियोजनामा १८ अर्ब ८२ करोड ६७ लाख ९२ हजार रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । त्यसमा पाँच हजार पाँच सय १३ जनालाई रोजगारी सिर्जना हुने बताइएको छ । यस्तै, मिनिरलका पाँच परियोजनामा १९ करोड तीन लाख ३४ हजार लगानी प्रस्ताव हुँदा एक सय १५ रोजगारी सिर्जना हुने बताइएको छ ।

यस्तै, सेवाका क्षेत्रका ५९ परियोजनामा ३० अर्ब ८९ करोड ६९ लााख ६३ हजार रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसैगरी, पर्यटनका दुई सय ४२ परियोजनामा ३३ अर्ब ६ करोड ५४ लाख ७९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । यतिका संख्यामा परियोजना स्थापना हुँदा सेवा क्षेत्रमा दुई हजार चार सय २० र पर्यटनमा १२ हजार ६ सय ३० रोजगारी सिर्जना हुने बताइएको छ ।

सुझावित समाचार