नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोर–जी) प्रयोगकर्ता उच्च दरमा बढिरहेका छन् । पछिल्लो एक वर्षमै फोर–जीका पौने १३ लाख ग्राहक थपिएको दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । योसँगै सिमकार्ड बिक्रीका आधारमा फोर–जीका ग्राहक (प्रयोगकर्ता) दुई करोड ६३ लाख ५६ हजार दुई सय ९५ जना पुगेका छन् ।
फोर–जी सरु भएको नौ वर्षमा यसका प्रयोगकर्ता साढे दुई करोड नाघेका हुन् । नेपालमा १७ पुस ०७३ देखि फोर–जी सेवा सुरु भएको हो । त्यसयता सेवाप्रदायक एनसेल र नेपाल टेलिकमले फोर–जीको नेटवर्क विस्तार र ग्राहक वृद्धिलाई तीव्रता दिए । पछिल्लो एक वर्षमै फोर–जीका ग्राहक १२ लाख ८० हजारले बढेको प्राधिरकणको तथ्यांक छ । सिम–सेवा बिक्रीका आधारमा गत वर्षको पुससम्ममा फोर–जी प्रयोगकर्ता दुई करोड ५० लाख ७५ हजार चार सय १९ जना थिए ।
यस अवधिमा नेपाल टेलिकमका सबैभन्दा धेरै १३ लाख सात हजार पाँच सय ६ जना फोर–जी ग्राहक थपिएका छन् । प्राधिकरणको गत पुस मसान्तसम्मको प्रतिवेदनअनुसार फोर–जी सेवा खरिद गर्ने नेपाल टेलिकमका ग्राहक संख्या एक करोड ४४ लाख ६५ हजार तीन सय तीन पुगेका छन् । अघिल्लो वर्षको पुस मसान्तसम्मा टेलिकमका फोर–जी ग्राहक एक करोड ३१ लाख ५७ हजार आठ सय ३७ जना थिए । यस अवधिमा एनसेलका फोर–जी ग्राहक भने २६ हजार ६ सय ३० जनाले घटेको प्राधिकरणको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको पुससम्ममा एनसेलका फोर–जी ग्राहक एक करोड १९ लाख १७ हजार पाँच सय ८२ जना थिए । यो वर्षको पुस मसान्तमा आइपुग्दा एनसेलका फोर–जी ग्राहक संख्या घटेर एक करोड १८ लाख ९० हजार नौ सय ५२ जना पुगेका हुन् ।
चौथो पुस्ताको मोबाइल सेवा (फोर–जी/एलटिई) तीव्र गतिको वायरलेस प्रविधि हो । यस प्रविधिमा आधारित भएर एलटिई, वाइम्याक्सलगायत सेवा सञ्चालन गर्न सकिन्छ । खासगरी फोर–जीको प्रयोगबाट प्रत्यक्ष भिडियो कल गर्न, द्रुत गतिमा इन्टरनेट चलाउन, ठुला–ठुला फाइलहरू डाउनलोड तथा अपलोड गर्न सहज बनाउँछ । विश्वबजारमा फोर–जी सन् २००९ देखि नै सुरू भएको हो ।