पाँच सय प्रतिशतले बढ्यो चाँदीको आयात

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण
  • सात महिनामा २४ अर्बको चाँदी र सवा २२ अर्बको सुन आयात, कुल आयातमा सुनचाँदीको हिस्सा ४.१ प्रतिशत पुग्यो, निर्यात नगण्य

विश्वबजार चाँदीको मागसँगै मूल्यवृद्धि उच्च हुँदा नेपालमा पनि सेतो धातुको आयात उच्च दरमा बढेको छ । चाँदीमा लगानी गर्नेको संख्या बढेसँगै नेपालमा यसको आयात पाँच सय प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । 

चालू आर्थिक वर्ष ०८२/८३ को सात महिनामा नेपालमा २४ अर्ब ९१ लाख रुपैयाँबराबरको चाँदी आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलानामा पाँच सय प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्ममा नेपालमा चार अर्ब ४९ लाख रुपैयाँबराबरको चाँदी आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । गत आव ०८१/८२ मा कुल सात अर्ब दुई करोड ६१ लाख रुपैयाँबराबरको चाँदी आयात भएको थियो । नेपालको कुल आयातमा चाँदीको हिस्सा २.१ प्रतिशत पुगेको छ ।

चाँदीको मात्रै होइन, नेपालमा सुनको आयातसमेत उच्च दरमा बढिरहेको छ । चालू आवको सात महिनामा नेपालमा २२ अर्ब ३४ करोड १४ लाख रुपैयाँबराबरको सुन आयात भएको थियो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८१.०९ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्ममा नेपालमा १२ अर्ब ३३ करोड ७२ लाख रुपैयाँबराबरको सुन आयात भएको व्यापार तथा निकासी केन्द्रको तथ्यांक छ । गत आव ०८१/८२ मा भने १९ अर्ब ९४ करोड ५७ लाख रुपैयाँबराबरको सुन आयात भएको थियो । नेपालको कुल आयातमा सुनको हिस्सा दुई प्रतिशत पुगेको छ । 

मूल्य बढेको बढ्यै 
विश्वव्यापी रूपमा सुनचाँदीको माग बढेसँगै यसको मूल्य पनि उच्च दरमा बढिरहेको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनावले सुनचाँदीमा हुने लगानी र यसको मूल्य अझ बढ्दो अवस्थामा देखिएको छ । मंगलबार सुन तोलामा २५ सय रुपैयाँले बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भयो । सोमबार प्रतितोला तीन लाख २६ हजार एक सय रुपैयाँ थियो । सोमबार ६ हजार २० रुपैयाँ रहेको चाँदी मंगलबार पाँच हजार आठ सय रुपैयाँमा कारोबार भयो । यो तोलामा दुई सय पाँच रुपैयाँले घटेको हो । 

फागुन १ गते सुनको मूल्य एक तोलाबराबर तीन लाख तीन हजार पाँच सय रुपैयाँ थियो । १९ फागुनसम्म पुग्दा तीन लाख २८ हजार ६ सय पुगेको छ । यस्तै, १९ दिनमा चाँदी आठ सय १५ रुपैयाँले बढेको छ । १ फागुनमा तोलाको पाँच सय रुपैयाँ रहेको चाँदी मंगलबार पाँच हजार आठ सय १५ मा कारोबार भयो । यसरी हेर्दा सुनचाँदीको मूल्य थप बढ्ने देखिन्छ ।

१७ करोडको गरगहना निर्यात 
कुल आयातको चार प्रतिशत हाराहारीमा सुनचाँदी आयात हुँदा यी बहुमूल्य धातुका गरगहनाको निर्यात भने निकै न्यून रहेको सरकारी तथ्यांक छ । कुल निर्यातमा सुनको हिस्सा नगण्य तथा चाँदीको हिस्सा ०.१ प्रतिशत मात्रै रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । नेपालले ४६ अर्ब ३५ करोड पाँच लाख रुपैयाँबराबरको सुनचाँदी आयात गर्दा निर्यात भने १७ करोड पाँच लाख रुपैयाँबराबरको मात्रै गर्न सकेको हो । 

चालू आवको सात महिनमा तीन करोड ९७ लाख रुपैयाँबराबरका सुनका गरगहना निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा एक सय दुई प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्ममा एक करोड ९६ लाख रुपैयाँबराबरका सुनका गरगहना निर्यात भएको थियो । गत आवमा चार करोड ७८ लाखको सुनका गरगहना निर्यात भएको थियो । कुल निर्यातमा सुनको हिस्सा नगण्य देखिन्छ । 

चालू आवको सात महिनामा नेपालबाट १३ करोड आठ लाख रुपैयाँबराबरको चाँदीका गरगहना निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २१.४५ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्ममा नेपालले १० करोड ७७ लाख रुपैयाँबराबरका चाँदीका गरगहना निर्यात गरेको थियो । 

गत आवमा भने नेपालले कुल १७ करोड ८७ लाख रुपैयाँबराबरको चाँदीका गरगहना निर्यात गरेको थियो । कुल निर्यातमा चाँदीका गरगहनाको हिस्सा ०.१ प्रतिशत रहेको छ । 

See More On

सुझावित समाचार