कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता ज्ञानेन्द्रसिंह महता तेब्बर बढी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । शनिरबार सम्पन्न भएको मत गणनाअनुरूप रास्वपाका उम्मेदवार महता १६ उम्मेदवारलाई उछिन्दै प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ निर्वाचित भएका हुन ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले क्षेत्र नम्बर ३ को मतपरिमाण घोषणा गरिएको बताए । उनका अनुसार सबैभन्दा बढी रास्वपाका उम्मेदवार ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
महताले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका हरिप्रसाद बोहरालाई तेब्बर बढी मतको अन्तरले हराउँदै पहिलो प्रयासमै संसदको यात्रा तय गरेका हुन् । कांग्रेसका बोहरा पनि पहिलोपटक संसदको यात्रामा होमिएका थिए । बोहराले नाै हजार ४४३ मत ल्याएका छन् ।
एमालेका डा. दीपकप्रकाश भट्टले सात हजार ५७५, नेकपामा मानबहादुर सुनारले चार हजार २८४, राप्रपाका पूर्णबहादुर चन्दले तीन हजार ९०२, नेमकिपाकी मिनु गिरीले ४२, जनमोर्चाका लालबहादुर कुँवरले ८७, नेकपा संयुक्तका कर्णबहादुर चन्दले ८६, श्रम संस्कृति पार्टीका गंगादत्त जोशीले २२४, मितेरी पार्टीका किरन थापाले ६, नेकपा विप्लव माओवादीका विष्णुप्रकाश उपाध्याले ११६, उज्यालो पार्टीका भीमबहादुर कुमालले २६८, राष्ट्रिय मुक्ति पार्टीका लोकराज भट्टले ७१,आम जनता पार्टीकी लक्ष्मीकुमारी विष्टले ३१, स्वतन्त्र थानेश्वर लेखकले ९५, वीरसिंह क्षेत्रीले २१ र हर्कबहादुर ऐरले १७७ मत ल्याएका छन्।
कुल एक लाख तीन हजार ८७ मतदातामध्ये ५८ हजार २०९ जनाले मतदान गरेका थिए, जसमध्ये ५३ हजार ५४६ सदर र चार हजार ६६३ बदर भएका थिए । क्षेत्र ३ मा २१ फागुन राति १ बजेदेखि सुरु भएको प्रत्यक्षतर्फको मतगणना २३ फागुन राति १० बजे सम्पन्न भएर घोषणा गरिएको थियाे ।
पहिलोपटक चुनावी मैदान टेकेका रास्वपाका महता पूर्वसांसद भट्ट, पूर्वमन्त्री सुनार, पूर्वआरक्ष आयोगका अध्यक्ष पूर्णबहादुर चन्द, कांग्रेस पूर्वजिल्ला सभापति बोहरासहितका उम्मेदवारलाई उछिन्दै पहिलो प्रयासमै सांसद बनेका छन् । रेडियोदेखि टेलिभिजनमा जनतामा आवाज बोल्दै आएका पत्रकार महता अब जवाफ दिने ठाउँमा पुगेका छन् ।