शनिबार १० बजेसम्मको प्रमुख १० समाचार

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

४९ हजार मतान्तरसहित झापा ५ मा बालेन शाह विजयी

झापा ५ मा बालेन शाहले करिब दुईतिहाइ मत पाएका छन्। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले उनले पराजित गरेका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार बालेनले ६८ हजार ३४८ मत पाए। ओलीले १८ हजार ७३४ मात्र मत पाएका छन्। 

प्रमाणपत्र लिन बालेन निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका छन्।  बालेनले पाएको मत नेपालको संसदीय इतिहासमै कुनै उम्मेदवारले पाएको सर्वाधिक मत हो। 

४९,६१४ मतान्तरले झापामा बालेन शाह विजयी भएका हुन्।

संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत

झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो अन्तरले पराजित गरी विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सर्वाधिक मतको रेकर्ड पनि बनाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार संसदीय निर्वाचनको इतिहासमा उनले सर्वाधिक मत पाएका छन् । 

६८ हजार ३४८ मतसहित उनी विजयी भएका हुन्। नेपालको संसदीय निर्वाचनमा यसअघि कुनै उम्मेदवारले यतिधेरै मत ल्याएका थिएनन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए।  

‘बालेन बाबु’ भन्दै ओलीले बालेनलाई दिए शुभकामना

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट निर्वाचित बालेन शाहलाई शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले शुभकामना दिएका हुन्। 

 ‘बालेन बाबु’ भन्दै ओलीले सम्बोधन गरेका छन्। बालेनलाई तबला उपहार दिएको तस्बिर राख्दै उनले शुभकामना दिएका हुन्। 

झापा ५ मा ओलीलाई ४९ हजार मतले पराजित गर्दै बालेन निर्वाचित भएका हुन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा निर्वाचनका लागि बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न निर्वाचनको सफल र शान्तिपूर्ण आयोजना भएकोमा नेपाली जनता तथा नेपाल सरकारलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री मोदीले नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्न पाउँदा खुसी लागेको बताएका छन्।

उनले यसलाई नेपालको लोकतान्त्रिक यात्रामा एउटा ऐतिहासिक उपलब्धि र गर्वको क्षण भएको पनि उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले निकट मित्र र छिमेकी राष्ट्रका रूपमा भारत नेपालका जनता तथा नवगठित सरकारसँग सहकार्य गर्दै साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।

७२ क्षेत्रमा रास्वपा विजयी, ५० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७२ क्षेत्रमा जित हात पारेको छ। थप ५० ठाउँमा उसको अग्रता छ। 

प्रत्यक्षतर्फका १६५ मध्ये उसले एक सय २० सिटभन्दा धेरै क्षेत्रमा जित्ने देखिएको छ। 

कर्णाली बाहेक सबै प्रदेशमा रास्वपाले उच्च मत पाएको छ। 

सुनामीको लहडमा मलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति ऋणी छु: रेनु दाहाल

नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहालले  अहिलेको सुनामीको लहडमा आफूले प्राप्त गरेको मत सम्मानजनक मत भएको बताएकी छिन् । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमसँग पराजित भएपछि मतदातालाई धन्यवाद दिँदै झन्डै ३० वर्षे राजनीतिक जीवनकालमा आफूले  जीवनको उर्जाशील नौ वर्ष यस ठाउँको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उल्लेख गरे ।  

जनताका सपनाहरु, आवश्यकताहरु, चाहानाहरु पुरा गर्नु नै आफ्नो सपना ठानेको उनले उल्लेख गरिन् । विकासका लागि जनताका पक्षमा राम्रा नीति नियम नहुनाले कामहरू असहज भइरहेको उनको भनाइ छ।१५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छँदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएको भन्दै उनले आफूले जनताको अमुल्य मतको सम्मान गरेको उल्लेख गरिन्। 

चार क्षेत्रमा एमालेका उम्मेदवार विजयी, ८ क्षेत्रमा अग्रता

नेकपा(एमाले)का चार उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हात पारेका छन्। 

निर्वाचन आयोगका अनुसार ताप्लेजुङमा थिजित थेबे,बाँके २ मा इस्तियाक राई, दैलेख २ मा लक्ष्मी प्रसाद पोखरेल र बझाङमा ऐनबहादुर महर विजयी भएका हुन्। 

त्यस्तै, इलामका २ क्षेत्रसहित अन्य ८ स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्। 

जितपछि रविलाई मीना र अस्मिनले दिए बधाई

प्रतिनिधिसभा सदस्यका रुपमा चितवनबाट तेस्रोपटक निर्वाचित भएका रास्वपाका सभापति रवि लामिछानेलाई प्रतिस्पर्धि उम्मेदवारहरु नेपाली कांग्रेसका मीना खरेल र एमालेका अम्नि घिमिरेले बधाई दिएका छन्। लामिछाने निर्वाचित भएपछि खरेल र घिमिरेले उनलाई भेटेर बधाई दिएका हुन्।

बधाई दिँदै खरेल र घिमिरेले चितवनको विकासमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले राम्रा काममा सधैं सहकार्य हुने र गलत गरे खबरदारी गर्ने बताएका थिए । बधाई लिँदै सभापति लामिछानेले आफ्नो जितलाई सबैको जित बनाउने कोशिस गर्ने बताए।

म्याग्दीमा भारी मतान्तरले स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुन भारी मतान्तरले विजयी भएका छन् । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले निकटतम प्रतिस्पर्धी भन्दा १४ हजार ९३१ मत अन्तरले विजयी भए ।

पुनले २२ हजार ८५० मत ल्याएर विजयी भएकाे बेनी स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९, नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६८४, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत पाए ।

यहाँ प्रत्येक्षतर्फको सबै मतगणना सकिएको र औपचारिक रूपमा विजयी भएको प्रमाण पत्र प्रदान गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत सूर्य बहादुर थापाले जानकारी दिए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो । 

नेपाली कांग्रेस १० क्षेत्रमा विजयी, नौ क्षेत्रमा अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले १० क्षेत्रमा जित निकालेको छ। अन्य नौ स्थानमा अग्रता कायम गरेको छ। 

निर्वाचनमा पार्टीका मुख्य नेताहरू भने पराजित भएका छन्। 

सुझावित समाचार