चितवनमा अटो दुर्घटना चारजनाको मृत्यु, एक घाइते

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

चितवनमा शनिबार भएको अटो दुर्घटनामा चारजनाको मृत्यु भएको छ। घटनामा एकजना घाइते भएका छन्। जिल्लाको कालिका नगरपालिका वडा नम्बर ९ द्रव्यटारस्थित भित्री सडक खण्डमा अटो अनियन्त्रित भई नालामा पल्टिँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र अधिकारीले जानकारी दिए।

दुर्घटनामा अटोचालक चितवनको राप्ति नगरपालिका–९ बस्ने ३९ वर्षीय पूर्ण विक, सोही ठाउँकी २२ वर्षीया बिनी तामाङ, ५६ वर्षीया विष्णुकुमारी तामाङ र करिब ५५ वर्षीया तिलक तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी अधिकारीका अनुसार उनीहरूलाई उपचारका लागि भरतपुरस्थित अस्पताल लगिएकोमा चिकित्सकले साँझ ६ः४० बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा राप्ति नगरपालिका–९ कै ५३ वर्षीया चिनीकुमारी गुरुङ घाइते भएकी छिन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरी प्रवक्ता डिएसपी अधिकारीका अनुसार साँझ करिब ५ बजे उर्पदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा प्र ०६–००१ ह ०३१५ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको हो ।

सुझावित समाचार