नवलपुर क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २६ वर्षीय मनीष खनाल विजयी भएका छन्। उनी नवलपुर २ बाट नेकपा एमालेका तिलक महत र नेपाली कांग्रेसका ओम घर्तीमगरलाई दोब्बर मतभन्दा बढी मतले पछाडि पार्दै विजयी भएका हुन्।
नवलपुर क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रास्वपाका मनीष खनालले ४१ हजार ३४७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ र नेपाली कांग्रेसका ओम घर्तीले १४ हजार ७ सय १३ मत प्राप्त गरेका छन्। उनको जितपछि उनका समर्थकहरूले उनलाई स्वागत तथा अभिनन्दन गरेका थिए। १ लाख ३१ हजार ४४५ मतदाता रहेको नवलपुर क्षेत्र नं. २ मा ७९ हजार ६९२ मत खसेको थियो।
खसेको मतमध्ये ७६ हजार २३० मत सदर भएको थियो भने ३ हजार ४६२ मत बदर भएको थियो। रास्वपाका मनीष खनालले सदर मतमध्ये ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन्।
त्यसैगरी, नवलपुर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का गणेशमान महतो १ हजार ५३८ मत प्राप्त गर्दै चौथो भएका छन् भने श्रम संस्कृति पार्टीका कमल चापागाईंले १ हजार १६४ मत प्राप्त गरेका छन्।
त्यसैगरी, नवलपुर २ मा राप्रपाकी रुनाकुमारी महतोले ९६३ मत प्राप्त गरेका छन्। नवलपुर २ मा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका विष्णु कार्की र २०७४ को निर्वाचनमा नेकपा एमालेका तिलक महत विजयी भएका थिए।