सप्तरी क्षेत्र नं ४ मा रास्वपाका सीताराम साह २३ हजार तीन सयभन्दा बढी मतान्तरले विजयी भएका छन्। लगातार तीनवटा निर्वाचन जितेका नेपाली कांग्रेसका तेजुलाल चौधरीलाई हराउँदै साहले बाजी मारेका हुन्।
पहिलोपटक संसदीय निर्वाचन लडेका साहले ३६ हजार ४१२ मत प्राप्त गर्दा कांग्रेसका चौधरीले १३ हजार १०३ मत मात्र ल्याए। यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालकी बाबी सिंहले १० हजार २८० मत ल्याइन्।
२०४१ सालमा सरकारी सेवामा प्रवेश गरेका निर्वाचित साह भू–संरक्षण अधिकृतबाट राजीनामा दिएर २०७४ मा कांग्रेसबाट सप्तरी–४(१)मा प्रदेश सभा सदस्य निर्वाचन लडेका थिए। नेविसंघबाट विद्यार्थी राजनीतिमा लागेका उनी निजामती कर्मचारी युनियनका वरिष्ठ सल्लाहकार हुँदै कांग्रेसका क्षेत्रीय सभापति पनि रहे। प्रदेश सभा सदस्यमा उनले ११ हजार ३९५ मत ल्याएका थिए।
२०७९ मा पुनः कांग्रेसबाटै खडक नगरपालिकाको नगर प्रमुखमा चुनाव लडेका थिए। नगर प्रमुख लड्दा ३ हजार ४३६ मत ल्याएर तेस्रो भएका साह पछिल्लोपटक कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका थिए।