आत्मरक्षा र अनुशासनका लागि तेक्वान्दो

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

हात र खुट्टाको प्रयोग गरी खेलिने कलात्मक खेल हो, तेक्वान्दो । कोरियाबाट सुरु भएको यो खेल हाल विश्वभर खेलिन्छ । नेपालमा पनि यसप्रति चासो राख्ने र खेल्नेको संख्या बढ्दो छ ।

विधान लामाले सन् १९८८ को सोल ओलम्पिकमा कांस्य पदक जित्न सफल भएका थिए । संगिना वैद्य र दीपक विष्टले ओलम्पिक खेलमा सहभागिता जनाएका थिए । त्यसैगरी, पलेसा गोवर्धनले फ्रान्सको पेरिसमा सम्पन्न सन् २०२४ को ग्रीष्मकालीन पारा–ओलम्पिकमा कांस्य पदक जितेकी थिइन् । 

पछिल्लो समय व्यस्त जीवनशैली, प्रविधिको अत्यधिक प्रयोग र शारीरिक सक्रियताको कमीका कारण मानिसहरू विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित भइरहेका छन् । यो खेल केवल मनोरञ्जन वा प्रतिस्पर्धाको माध्यम मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ गर्ने प्रभावकारी उपाय बनेको छ । तेक्वान्दो भन्नेबित्तिकै मुक्का र लात प्रहार गर्ने खेल बुझिन्छ । तर, यो खेल केवल मुक्का र लात मात्र होइन, यो अनुशासन, धैर्यता, आत्मनियन्त्रण र आत्मरक्षाको कला हो । तेक्वान्दो सिक्ने व्यक्तिमा शारीरिक क्षमता मात्र होइन, मानसिक दृढता पनि विकास हुन्छ । तेक्वान्दोे केवल खेल होइन, जीवन जिउने कला हो । यसले आत्मरक्षा सीप, शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र अनुशासन सिकाउँछ । विशेषगरी किशोरी तथा महिलाका लागि आत्मनिर्भर र आत्मविश्वासी बन्ने प्रभावकारी माध्यम हो । बालबालिकादेखि वयस्कसम्म सबैका लागि उपयुक्त यो खेलले स्वस्थ शरीर र सकारात्मक सोच विकास गर्न मद्दत गर्छ ।

११–१८ वर्षका किशोर–किशोरीका लागि आत्मरक्षा सिक्ने, प्रतिस्पर्धात्मक खेलमा सहभागी हुने र व्यक्तित्व विकास गर्ने सुनौलो समय हो । यस उमेरमा शारीरिक ऊर्जा बढी हुने भएकाले तेक्वान्दोे प्रशिक्षण प्रभावकारी हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पनि यही उमेरमा बढी हुन्छ । १८ वर्षभन्दा माथिका उमेरमा तेक्वान्दोे तन्दुरुस्ती कायम राख्ने, तौल नियन्त्रण गर्ने र तनाव व्यवस्थापन गर्ने उत्कृष्ट माध्यम हो ।

विश्वकर्मा खेल प्रशिक्षक हुन्

सुझावित समाचार