कहाँनिर चुक्यो हाम्रो नागरिक शिक्षा ?

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण
  • हाम्रा हरेक आनीबानी सुधार्न नागरिक चेतना बढाउन जरुरी छ र नागरिक चेतना वृद्धि नागरिक शिक्षाबाट मात्र सम्भव छ

नेपाल यतिखेर चरम संकटबाट गुुज्रिरहेको छ । २३ भदौको सडक प्रदर्शनका क्रममा भएको नृशंस हत्यापछि उत्पन्न अराजकता र विध्वंसले देशको राजनीतिमा ठुलो उथलपुथल ल्यायो । यसमा जेन–जी पुस्ताले देशमा बढ्दो बेथिति र भ्रष्टाचारविरुद्ध शान्तिपूूर्ण आन्दोलन आह्वान गरेको थियो । तर, यही आन्दोलन नै पछि विध्वंस र विद्रोहमा परिणत हुन पुुग्यो । परिणामत: देशभर विध्वंसको शृंखला नै मच्चियो ।

जेन–जीले मुलुुकमा सुुशासन र भ्रष्टाचार अन्त्यका लागि आह्वान गरेको आन्दोलनमा इतिहासकै सबैभन्दा ठुलो क्षति भयो । अहिले जनजनमा त्रास, पीडा र आशंकाका अनेक परिदृश्य सलबलाइरहेका छन् । इतिहासका कालखण्डमा अनेकन युद्ध तथा महायुद्धका घटना नघटेका होइनन् । तर, ती युुद्ध र महायुुद्धको निष्कर्ष कहिल्यै सकारात्मक भएको देखिन्न । आजसम्मका घटनामा यस्ता युद्ध र विद्रोहले मानव सभ्यतामा थप आघात र विश्व निर्माणमा क्षतिबाहेक केही उपलब्धि भएको पाइँदैन । यसर्थ शान्ति, सहिष्णुता र सहयोग नै मानव जीवनका सुन्दर पक्ष हुन् ।

आजका जेन–जी पुस्तामा शान्ति र सहयोगका भावनाबाट अगि बढ्न सकारात्मक सन्देशको खाँचो देखिन थालेको छ । यी कलिला भाइबहिनीमा देशको माया भएर नै आज बढ्दो अनियमितता, दण्डहिनता, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा तिनले गोली खानुपर्ने स्थिति आयो, यो नै ठुलो दुर्भाग्य हो । देशमा राजनीतिक नेतृत्व अक्षम, कमजोर र स्वार्थी हुँदै गएकाले नै यो स्थिति आएको हो । यस्ता शक्तिलाई सत्ताच्यूत गर्नुु गलत होइन । तर, यही आन्दोलनका नाममा घुसपैठ गरी राष्ट्रिय सम्पत्तिको अकल्पनीय क्षति गराउनु अपराध हो । यसको पूूर्ति हुुन अत्यन्त कठिन छ । तथापि संयम र धैर्यपूर्वक सबै पक्षले काम गर्ने हो भने यो असम्भव भने छैन । 

विद्यालयमा पढ्ने ससाना बालबालिकादेखि नै शान्ति र सहिष्णुताको शिक्षा दिनुु जरुरी छ । यसै सन्दर्भमा युुनेस्कोले भनेको छ— हरेक बालबालिकाको मन–मस्तिष्कमा शान्ति र सहयोगको बिज रोपिदिन सकियो भने त्यो सबैभन्दा उत्तम र प्रभावकारी कार्य हुन्छ । यसरी बालबालिकाको सानै उमेरदेखि मनभित्र शान्तिको बिउ अंकुराएपछि भोलि जीवनभर सहयोगी र सहिष्णु नागरिक बन्ने निश्चित छ । तिनैले गर्नेछन्, असल नागरिक बनेर देशको सेवा ।

आज हामीले देखिरहेका छौँ, आममानिसमा धैर्य र संयम खल्बलिएको छ । कति मानिसको सार्वजनिक व्यवहार निकै कमजोर देखिन्छ । बसपार्कमा बस चढ्दा लाइनमा बसेर चढ्ने धैर्य धेरैमा देखिन्न । त्यस्तै, पसलमा किनमेल गर्न जाँदा आफूभन्दा अगाडि अरू नै कोही छ भने उसलाई उछिनेर आफैँ पहिला सामान किन्न अग्रसर हुने बानी छ हाम्रो । यस्ता धेरै घटनामा सार्वजनिक व्यवहार एवं प्रवृत्तिका आधारमा हाम्रो नागरिक चेतनाको मूल्यांकन गर्न सकिन्छ । यस्ता घटना अस्पताल होस् या विमानस्थल, ट्राफिकमा होस् या मन्दिरमा, अरूलाई उछन्निै पर्ने प्रवृत्ति बढ्दो छ । मोबाइलमा घन्टौँ अर्थहीन गफ गरेर या काम न काजका रिल हेरेर अल्मलिने हामी धैर्य गर्नुपर्ने ठाउँमा भने चुकिरहेका छौँ । ठुलो स्वरले कराउने, रेडियो, टिभी ठुलो आवाजमा बजाउने र छरछिमेकीलाई झर्को लगाउने प्रवृत्ति जताततै देख्न सकिन्छ । अझ हामीमध्ये कतिपय त विदेश जाँदा त्यहाँको अनुुशासन, फोहोरमैला व्यवस्थापनलगायत धेरै राम्रा कुरा अभ्यास गरेर नेपाल फर्केपछि त्यस्ता अभ्यास बिर्सिने धेरै देखिन्छन् । 

हाम्रा गाडीचालकहरूले जेब्राक्रसबाट पैदलयात्रु क्रस गर्दैगर्दा हतारमा गाडी कुदाएर ठक्कर दिनेसमेत गरेका छन् । झन् पैदल यात्रुहरूले पनि जेब्राक्रसबाट बाटो काट्नुपर्नेमा जुनसुकै ठाउँबाट जथाभावी काट्ने गरेको देखिन्छ । यसरी हामी धेरैमा सामान्य नागरिक चेतना र संस्कार पनि बस्न सकिरहेको छैन ।

स्थानीय सरकारले यस ठाउँमा फोहोर नफाल्नु भनी लेखिएका बोर्डहरू राखिएकै स्थानमा फोहोर फ्याँक्ने गरेका कैयौँ दृश्य देख्न पाइन्छ । बसमा चढ्दा ज्येष्ठ नागरिक, अपांगता या महिला सिट लेखिएको भए पनि कतिपयले बेवास्ता गरी सो नियम पालना गरेको पाइँदैन । घरको फोहोर नजिकैको फोहोर फ्याँक्ने कन्टेनरमा नफ्याँकी जताततै फ्याँक्ने हामीमध्ये धेरै छौँ । बैंकमा काउन्टरमा जानुअघि टोकन लिने र पालो पर्खिने चेतनाको समेत अभाव देखिन्छ । हाम्रा यस्ता हरेक आनीबानी सुधार्न नागरिक चेतना बढाउन जरुरी छ । नागरिक चेतना वृद्धि नागरिक शिक्षाबाट मात्र सम्भव छ ।

बाटोमा हिँड्दा अन्य नागरिकलाई धक्का लगाउनु, बिच सडकमा उभिएर गफ गर्नु, नचाहिने वादविवाद गरेर वरपरका साथीभाइलाई असर पार्नु, रातमा ठुलो आवाजले टिभी हेर्नु, बुबाआमाले केटाकेटीका अगाडि आफ्ना घरायसी गलफत्ती गर्नु आदि असल नागरिकका गुण होइनन् । नागरिकमा असल आचरण विकास हुन सकेन भने व्यवहारमा शिष्टता, सभ्यता र सुसंस्कार पाउन सकिँदैन । सभ्य नागरिक समाजको निर्माण नागरिक शिक्षाको ज्ञानबाट मात्र सम्भव हुन सक्छ ।

गत २३ र २४ भदौमा जेन–जीको नेतृत्वमा भएको आन्दोलनमा जेन–जीबाहिरबाट घुसपैठ भई देशभर भएको तोडफोड, आगजनी, लुटपाट र हिंसाले बालबालिकाको मनोविज्ञानदेखि समग्र देशको अर्थतन्त्र नै डामाडोल भएको छ । कतिपय औद्योगिक संस्थासमेत तोडफोड र लुटपाटको सिकार भएका छन् । ती पुन: सञ्चालनमा आउन समय लाग्ने र ठुलो रकम खर्च हुने देखिन्छ । यसबाट हजारौँले रोजगारीसमेत गुमाउन पुुगेका छन् ।

जेन–जी आन्दोलनका नाममा भएका विध्वंसका घटनाले कैयौँको व्यक्तिगत सम्पत्ति, विद्यालय, कलेज, होटेल, व्यापारिक केन्द्रका साथै राज्यका महŒवपूर्ण निकाय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतमा समेत आगजनी भयो । साथै, जिल्लाका सरकारी कार्यालय र कतिपय अदालतसमेतमा आगजनी गरियो । यसबाट पनि हामीमा नागरिक चेतनाको कमी भएको स्पष्ट देखिन्छ । यस्तो अवस्थामा अन्य मुलुकले समेत हाम्रो नागरिक चेतनामाथि औँला उठाउने ठाउँ सहजै पाउने देखिन्छ ।

यस्ता घटनाका कारण अन्य मुलुकमा नेपाल असुरक्षित छ भन्ने भावना बढ्ला भन्ने पक्षतर्फ पनि हाम्रो ध्यान जानुु जरुरी छ । उनीहरूमा हाम्रो देशमा कुशासनमा मौलाएको छ भन्ने छाप पर्नु हाम्रा लागि लज्जाबोधको विषय हो । यसर्थ, समयमै हरेक नागरिकलाई नागरिक कर्तव्य र दायित्वप्रति सजग गराउनुपर्छ । नागरिकलाई आफ्नो अधिकार र कर्तव्यको बोध गराउने दायित्व शिक्षाकै हो । अहिले हाम्रो देशका जिम्मेवार तहका नेतृत्वदायी राजनीतिक दल, नेता, कार्यकर्ता सबैको बानी व्यवहार र क्रियाकलाप हेर्दा नागरिक चेतनाको स्तर कमजोर भएको छर्लंग देखिन्छ ।

शिक्षाले कस्तो भूमिका निर्वाह गर्ने हो ? आमनागरिकसम्म शिक्षाको पहुँचका साथै तिनको चेतना वृद्धि कसरी गर्ने हो ? हाल देखा परेको नागरिक चेतनाको स्तर कसरी कमजोर भयो ? आदि विषय मनन गरी वर्तमान शिक्षा प्रणालीमाथि नै गम्भीर समीक्षा जरुरी छ । अहिलेसम्म शिक्षाको राष्ट्रिय उद्देश्य के–कति हासिल भए वा नागरिकमा त्यसले के–कस्तो प्रभाव पारिरहेको छ भन्ने विषय पनि मननीय देखिन्छ । देशभित्र घटिरहेका अनेक घटनालाई मध्यनजर गरी साँच्चिकै हाम्रो शिक्षा प्रणालीमाथि विमर्श गर्ने हो भने यसका कमी–कमजोरी पहिल्याएर सुधारको बाटो खोज्न बल पुग्छ ।

नागरिक चेतनाबाट असल र चरित्रवान् नागरिक निर्माण गर्न सकिनेमा दुुईमत छैन । नागरिकले आफूले के काम गर्ने ? के नगर्ने ? के काम गर्दा अरूको काममा बाधा पुुग्दैन ? के गर्दा अरूलाई असर पर्छ ? यावत् विषयमा नागरिक कर्तव्यसम्बन्धी व्यवस्था व्यवहारमा उतार्न नागरिक शिक्षालाई प्राथमिकतासाथ अगि बढाउनुु जरुरी छ । मानिस स्वयं सामाजिक प्राणी भएकाले ऊ समाजको सदस्य पनि हो । उसले समाज र राष्ट्रप्रति आफ्नो दायित्व छ भन्ने कुरा भुल्नुहुँदैन । उसले कोही कसैमाथि विभेद नगरी सम्मानजनक व्यवहार सिक्नुुपर्छ । यसका लागि हरेक नागरिकमा आफ्नो पेसागत प्रतिबद्धताका साथै नैतिकता र आचरणको पालना गर्नुु नै असल नागरिकको गुुण मान्न सकिन्छ । यसका लागि नागरिक चेतनाको विकासमा नागरिक शिक्षाको भूमिका ठुलो हुन्छ ।

हुन त विद्यालय शिक्षाको कक्षा ४ देखि १० सम्मको सामाजिक अध्ययन विषयमा नागरिक चेतना विषयका एकाइ राखिएका छन् । तर, यसभित्र अत्यावश्यक धेरै कुरा समेटिएको देखिँदैन । त्यहाँ थोरै एकाइ र पाठ छन् । शीर्षक हेर्दा आकर्षक देखिए पनि केटाकेटीलाई नागरिक ज्ञान, सिप र चेतना बढाउन पर्याप्त देखिँदैन । सतही सैद्धान्तिक ज्ञानका विषय उल्लेख भए पनि व्यावहारिक र कार्यान्वयन पक्षको कमी देखिन्छ । यसर्थ, सानै कक्षादेखि उच्च शिक्षासम्म नागरिक शिक्षाको पाठ्यक्रममा सुधारको खाँचो छ ।

नागरिक शिक्षाको सुुरुवात विद्यालय शिक्षा प्रणालीबाट आरम्भ गरिनुुपर्छ । यसैमा सामाजिक मूल्य–मान्यता निर्माणको उद्घोष पनि हुन्छ । यसै सन्दर्भमा म्याक्स वेबरले कानुन, विधान, विधि, पद्धति र प्रणालीमा आधारित तन्त्र निर्माणमा जोड दिएका छन् । आगामी दिनमा हुने भ्रष्टाचारविरोधी आन्दोलन हिंसात्मक नभई तर्क, बहस र नीतिमा आधारित हुनुुपर्छ । नेपालको जेन–जी विद्रोहको पृष्ठभूमि र कारक पक्ष भनेकै तत्कालीन सरकारका गैरजिम्मेवार रबैया र भ्रष्टाचारका गतिविधि नै हुन् । राजनीतिक दल र नेताहरू जनताको मतद्वारा सत्तामा पुुगेर जनताप्रति नै अनुत्तरदायी बन्दै मनी, मसल र सत्ताको उन्मादमा रमाउन थाल्नुको परिणामबाट जेन–जी आन्दोलनको उदय भयो र सरकार सत्ताच्यूत हुन पुुग्यो ।

लोकतान्त्रिक प्रक्रिया र विधिको शासनविना भ्रष्टाचार हटाउन सकिँदैन । हुन त राजनीतिक पक्षबाट हेर्दा यति वेला हिजो जे हाम्रा नेताले रोपेका थिए, आज त्यसैको फल पाएको महसुुस हुन्छ । तर, नेतृत्वको गलत कार्यले राष्ट्रले सधैँ दुु:ख व्यहोर्नु गलत हो । सबैमा चेतना जगाउन हरेक घर, परिवार, समुदाय समाज र मिडियाले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । विद्यालय तथा समुदायसँगै राजनीतिक नेतृत्वले समेत सकारात्मक भूमिका खेली नागरिक शिक्षाको ज्ञान र सिपलाई आत्मसात् गर्नुु जरुरी छ ।

(नेपाल सरकारका पूर्वउपसचिव गौतम शिक्षाविद् हुन्)

सुझावित समाचार