ताप्लेजुङका हिमाली क्षेत्रका मतदान केन्द्रका मतपेटिका भोलि मात्र हेलिकोप्टरबाट ल्याइने

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ताप्लेजुङका हिमाली क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकोप्टर जिल्ला सदरमुकाममा आएर तयारी अवस्थामा राखिएको छ । तर, हिमाली क्षेत्रमा मौसम प्रतिकूल भएका कारण आज हेलिकोप्टर उडान हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार फक्ताङलुङ गाउँपालिकाका दुर्गम बस्तीहरू घुन्सा, याङ्मा, ग्याब्ला र ओलाङचुङगोलाबाट मतपेटिका भोलि बिहान फागुन २२ गते हेलिकोप्टरमार्फत ल्याइने तयारी गरिएको छ। ती स्थानहरू अत्यन्त दुर्गम र हिमाली क्षेत्र भएकाले मतपेटिका स्थलमार्गबाट ल्याउन कठिन हुने भएकाले हवाई माध्यम प्रयोग गर्न लागिएको हो ।

फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा मतदान केन्द्रमा ६२ जना मतदाता रहेकामा १२ मत खसेको छ। सोही वडाको ओलाङचुङगोलामा २९ ३ मतदाता रहेकामा ४८ मत खसेकोछ। त्यस्तै, फक्ताङलुङ गाउँपालिका–६ को घुन्सा मतदान केन्द्रमा १७३ मतदातामध्ये ८२ मत खसेको छ भने ग्याब्ला मतदान केन्द्रमा ६९ मतदातामध्ये २८ मत खसेको जनाइएको छ। ती क्षेत्रका मतपेटिकाहरू हेलिकोप्टरमार्फत ल्याउने भएको हो। 

जिल्लाभर भने प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक रूपमा मतदान भएको छ। ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदातामध्ये ५१ प्रतिशत अर्थात् ४६ हजार ४७४ मत खसेको प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिनुभयो। खसेको मतमध्ये महिला २१ हजार ७५ र पुरुष २५ हजार ३९९ रहेको छ।

 दुर्गम हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका भोलि बिहान हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएपछि जिल्लामा मतगणनाको प्रक्रिया अगाडि बढाइने तयारी गरिएको प्रशासनले जनाएको छ।
 

सुझावित समाचार