प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।
बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट आएको प्रारम्भिक सूचनाअनुसार करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए। उनका अनुसार मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
भण्डारीले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य भइरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिने बताए।
निर्वाचन आयोगका अनुसार विभिन्न जिल्लाबाट मतपेटिका संकलनको काम जारी रहेको छ। मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्धारित प्रक्रियाअनुसार मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ।
यसपटकको निर्वाचनमा देशभरका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। आयोगले निर्वाचन प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकाय, कर्मचारी तथा मतदातालाई धन्यवाद पनि दिएको छ।
