मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता, साढे तीन बजेसम्म ५५ प्रतिशतले गरे मतदान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भइरहेको मतदान प्रक्रियामा मकवानपुरमा हालसम्म एक लाख ७३ हजारभन्दा बढी मतदाताले मतदान गरेका छन् । 

मकवानपुरका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मकवानपुरमा ३ः३० बजेसम्म ५५ प्रतिशत मतदान भइसकेको छ ।

मकवानपुरका दुईवटा निर्वाचन क्षेत्रमा तीन लाख १५ हजार ३३४ मतदाता रहेकोमा अहिलेसम्म एक लाख ७३ हजारभन्दा बढी मतदाताले मतदान गरेका हुन् । उनका अनुसार सबै मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति उत्साहजनक रहेको खबर छ ।  ‘अहिलेसम्म मकवानपुरमा कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना भएको छैन । सबै ठाउँमा शान्त वातावरणमा मतदान भइरहेको छ,’ प्रमुख निर्वाचन अधिकारी ढकालले भने ।

मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन लाख १५ हजार ३३४ मतदाताले मतदान गर्दै छन् । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता छन् । 

जिल्लाभर महिला मतदाताको संख्या एक लाख ५३ हजार ३७६, पुरुष मतदाताको संख्या एक लाख ६१ हजार ९५३ र अन्य पाँचजना रहेको प्रमुख ढकालले जानकारी दिए ।

यस निर्वाचनमा मकवानपुरमा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् । यसअघि ३६४ मतदान केन्द्र रहेकोमा १० वटा निर्वाचन केन्द्र थपिएका हुन् ।

जिल्लाका १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा १० स्थानीय तहमध्ये ६ स्थानीय तहका मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका हुन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र रहेका छन् । मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार जिल्लाभर १६७ मतदानस्थलमध्ये १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएका छन् । अतिसंवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र छन् ।

यस्तै, भीमफेदी गाउँपालिकाम रहेको भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अस्थायी मतदान केन्द्र तोकिएको बागमती प्रदेश निर्वाचन अधिकृत ढकालले जानकारी दिए । 

उनका अनुसार जिल्लको भीमफेदी कारागारमा रहेका ९९५ जना कैदीबन्दीमध्ये जम्मा ७५ जना मात्र मतदाता नामावलीमा सूचीकृत रहेका पनि प्रमुख ढकालले जानकारी दिए । तीमध्ये तीनजना महिला र ७२ जना पुरुष मतदाता रहेको उनको भनाइ छ ।

भीमफेदी कारागारमा कैदीबन्दीले मतदान गर्नेछन् भने जिल्ला प्रशासन कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मी र जिल्लामा रहेका आश्रयस्थलमा बस्ने ज्येष्ठ नागरिकहरूले मतदान गर्नेछन् ।
 

सुझावित समाचार