देश अहिले फरक मोडमा उभिएको छ । भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि देश विषम परिस्थितिमा गुज्रिएको थियो । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाएर अहिले देश चुनावी मैदानमा छ । तर, परिस्थिति पहिलाभन्दा फरक देखिएको छ । १६५ निर्वाचन क्षेत्रमा प्रमुख दलले आफ्नो उम्मेदवार खडा गरेका छन् । तर, यसपालि केही चर्चित उम्मेदवार छन् । उनीहरू विभिन्न कारणले चर्चित बनेका छन् ।
केही पात्रहरू यति चर्चित छन् कि उनीहरूले कुन वेला र कहाँबाट मतदान गरे भन्ने आमनागरिकको चासो बनेको छ । अहिले सबैभन्दा चर्चित पात्र बालेन्द्र शाह छन् । जो नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्दै छन् । शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिए पनि उनले मतदान भने काठमाडौंको सिनामंगलबाट गरेका छन् ।
त्यस्तै, अर्का चर्चित उम्मेदवार गगनकुमार थापाले पनि मतदान गरेका छन् । सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थापाले काठमाडौंको मैतीदेवी मतदान केन्द्रबाट मतदान गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्दै आएका थापा एकाएक सर्लाही पुगेपछि उनी चर्चित बनेका छन् । जहाँ रास्वपाका अमरेशकुमार सिंहसँग चुनावी प्रतिस्पर्धामा छन् । अमरेश पनि चर्चित उम्मेदवारको रूपमा चिनिएका छन्।
त्यस्तै, अर्का चर्चित उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गरेका छन् । उनी रुकुम पश्चिमबाट उम्मेदवार बने पनि उनको मतदाता नामावली भने चितवन ३ मा रहेकाले उनले सोही ठाउँबाट मतदान गरेका हुन् । त्यस्तै, झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओलीले भक्तपुरबाट मतदान गर्नेछन् । उनले अहिलेसम्म मतदान गरेका छैनन् ।