नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि पुन: मतदान गरेका छन् । उनले राेल्पाकाे परिवर्तन गाउँपालिका- ३, थुनिकोटस्थित बालशिक्षा मावि ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
तत्कालीन माओवादी शान्तिप्रक्रियामा आएलगत्तै २०६४ सालमा मतदान गरेका विप्लव तथा उनी नेतृत्वको पार्टीले निर्वाचन बहिष्कारको नीति अवलम्बन गर्दै आएको थियो । संसदीय निर्वाचनले मुलुकको समस्या समाधान नगर्ने भन्दै ‘एकीकृत जनक्रान्ति’को नयाँ कार्यदिशा अघि सारेको नेकपा (माओवादी)ले ‘मत परीक्षण’ गर्न भन्दै पुन: निर्वाचन प्रक्रियामा भाग लिएको हो ।
मतदानको अघिल्लो दिन नै विप्लव जन्मगाउँ रोल्पाको इरिबाङ पुगेका थिए । कपिलवस्तु बस्दै आएका उनी निर्वाचन प्रचारप्रसार गर्न केही समयअघि रोल्पाका गाउँगाउँ पुगेका थिए ।
रोल्पाबाट उम्मेदवार हुने आकांक्षा राखेका उनी अन्तिममा पार्टीको मुख्य नेतृत्वले भाग नलिने नीति लिएको भन्दै पछि हटेका थिए । उनी नेतृत्वको नेकपा (माओवादी)ले रोल्पामा चूडामणि वली ‘आदर्श’लाई उम्मेदवार बनाएको छ । विप्लव नेतृत्वको माओवादीको चुनावी यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।