भारत र इंग्ल्यान्ड आज सेमिफाइनलमा भिड्दै

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

साबिक विजेता भारतले बिहीबार दोस्रो सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डको सामना गर्दै छ । मुम्बईको वानखेडे रंगशालामा हुने यस खेलको विजेता फाइनलमा पुग्नेछ । इंग्ल्यान्ड र भारतबिच लगातार तेस्रोपटक आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा भिडन्त हुन लागेको हो । सन् २०२२ मा भएको सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले हरायो । इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पछि पार्दै उपाधि उचालेको थियो । 

सन् २०२४ मा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको थियो । यसअघि सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई ६८ रनले हराएको थियो । समग्रमा आइसिसीले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा यी दुईबिच पाँचौँपटक सेमिफाइनल खेल हुन लागेको छ । अहिलेसम्म इंग्ल्यान्ड र भारतले समान दुई खेलमा जित निकालेका छन् ।

इंग्ल्यान्ड र भारतबिचको समीकरण गज्जबको छ । सेमिफाइनलमा जसले जित निकाल्छ, सोही टोलीले उपाधि जित्ने गरेको इतिहास देखिन्छ । चालू विश्वकपको सेमिफाइनलमा स्थान बनाउन आयोजक भारतले अन्तिम खेलसम्म नतिजा कुर्नुपरेको थियो । सुपर ८ को समूह ‘१’ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई हराउँदै भारतले सेमिफाइनल स्थान पक्का गरेको थियो । समूह ‘२’ इंग्ल्यान्डले शतप्रतिशत नतिजा निकाली अन्तिम चार स्थान पक्का गर्यो । सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतका जसप्रित बुमराह, सन्जु सामसन, हार्दिक पाड्या र तिलक वर्माले गतिलो प्रदर्शन गरिरहेका छन् । 

इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले सुपर ८ मा उत्कृष्ट खेल देखाए । उनले पाकिस्तानसँगको निर्णायक खेलमा शतकीय इनिङ्स खेल्दै जित दिलाएका थिए । इंग्ल्यान्डको मुख्य समस्या जोस बटलर उच्च फर्ममा छैनन् । यद्यपि, चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध भने उनी चम्कन सक्छन् । 

सुझावित समाचार