कूटनीतिक पहल गरी नेपालीहरूलाई सुरक्षित रूपले स्वदेश फर्काउन माग

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

मध्यपूर्वको खाडी मुलुक इरानमाथि पाँच दिनअघि इजरायल र अमेरिकाले गरेको हमलामा सर्वोच्च नेता, सुरक्षा अधिकारी र सयौँ बालबालिका मारिएसँगै इरानले जवाफी हमला गर्न थालेपछि मध्यपूर्वका खाडी मुलुकमा रहेका नेपालीहरूले कूटनीतिक पहलको माध्यमबाट सुरक्षित र व्यवस्थित ढंगले स्वदेश फिर्ता गराउने तयारी अघि बढाउन माग गरेका छन्। 

गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) ले १ मार्चमा सम्पन्न भर्चुअल बैठकले पराराष्ट्र मन्त्रालयलाई मध्यपूर्वको पछिल्लो अवस्था र परिषद्को निर्णय बुझाउँदै इरानबाट मध्यपूर्वका सातवटा देशमा भारी संख्यामा बम वर्षा तथा क्षेप्यास्त्र प्रहार गरेकाले नेपालीहरूलाई सुरक्षित रूपले स्वदेश फर्काउन आग्रह गरेको हो। परिषद्का मध्यपूर्व संयोजक रमेश श्रेष्ठद्वारा बुझाइएको निर्णयमा आइसिसको अनुभव तथा स्रोत र साधनको उच्चतम् प्रयोगसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावासहरू, नेपाली कूटनीतिक नियोगहरूलाई अनुरोध गर्दै मध्यपूर्वमा रहेका गैरआवसीय नेपाली संघसम्बद्ध अभियन्ताहरूसँग प्रत्यक्ष समन्वय गरी २४  घण्टा हटलाइन सेवा सुरु गर्ने उल्लेख छ। 

त्यसका साथै विश्वका विभिन्न देशहरूबाट नेपालका लागि हिँडेका र मध्यपूर्वमा ट्रान्जिट परेर रोकिएका नेपालीहरूलाई समेत समन्वय गरी सहजीकरण गर्ने, नेपालमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन र संघको पूर्वघोषित निर्वाचनमा भाग लिन तय गरिएकाहरूको यात्रा रोकिएको उल्लेख गर्दै निर्णयमा भनिएको छ ‘१४– १६ मार्चमा काठमाडौंमा हुने भनिएको संघको निर्वाचन विकराल अवस्थाको विषयमा सञ्चालक समितिसँग छलफल गरी केही समय पर सार्न छलफल गरिएको छ ।’ नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले आफ्ना नागरिकहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी समयमै आवश्यक कदम चालिनेमा आफूहरू विश्वस्त रहेको संघले जनाएको छ । 

नेपालीहरूको प्रमुख वैदेशिक रोजगारी गन्तव्यका रूपमा रहेको मध्यपूर्व क्षेत्रमा पछिल्लो पाँच दिनदेखि शक्तिशाली राष्ट्रहरूबिच उत्पन्न युद्धजन्य परिस्थितिका कारण समग्र क्षेत्र तनावग्रस्त बन्दै गएको संघले जनाएको छ । संघका अनुसार जारी युद्धले संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, ओमान, कुवेत, बहराइनलगायतका राष्ट्रहरूमा काम गरिरहेका करिब २० लाखभन्दा बढी नेपालीहरू प्रभावित छन्। भर्चुअल बैठकमा दुवै संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूसहित यूएई, ओमान, कतार, साउदी अरेयिबा, कुवेत, बहराइन, इराकसहित राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरू सहभागी रहेको जनाइएको छ । 

भोट बैंकको रूपमा लिएको आरोप

संघको राष्ट्रिय समन्वय परिषद् कतारले अन्तर्राष्ट्रिय समुन्वय परिषद् (आइसिसी) ले मध्यपूर्व क्षेत्रलाई ‘भोट बैंक’का रूपमा प्रयोग गर्दै आएको आरोप लगाएको छ। परिषद्का कतार अध्यक्ष कृष्ण पन्थीले मध्यपूर्वको अवस्था जटिल बन्दै गइरहेका वेलासमेत आइसिसी प्रतिनिधि (डेलिगेट्स) छनोट प्रक्रियामै केन्द्रित रहेको आरोप लगाउँदै उनले यसले मध्यपूर्व क्षेत्रलाई जहिल्यै भोट बैंकको रूपमा मात्र प्रयोग गर्दै आएको पुष्टि भएको औँल्याए।

‘पछिल्लो २८ फेब्रुअरीदेखि मध्यपूर्वको अवस्था तनावपूर्ण बन्दै गएको छ, तर आइसिसी डेलिगेट्स छनोट गर्न र कोही छुटेको भए छिटो पठाउनुस् मात्र भन्दै आएको छ,’ उनले भने, ‘यस्तो संवदनशील अवस्थामा डेलिगेट्सको छनोटमै अल्झिरहेको एनआरएनएको मध्यपूर्वलाई हेर्ने नजरिया प्रमाणित भएको छ।’ पूर्वघोषित मितिमै अधिवेशन सम्पन्न गर्न आतुर आइसिसीको भूमिका मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकहरूको भावनामाथि खेलबाड गर्नु खेदजनक रहेको उनले बताए। 

सुझावित समाचार