गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका छन्। गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचनसम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो।
सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्मको परिचालनबारे जानकारी प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसले घटना र निर्वाचनविरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ। प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदानस्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण पनि प्रणालीमा राखिएको छ।
मतदानस्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे सो प्रणालीबाट सहजै जानकारी लिन सकिन्छ। निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेरको विकास गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गृहमन्त्रीको प्रमुख आतिथ्यतामा सुरक्षा निकायका सबै प्रमुखहरू, गृह मन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थितिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रणालीबारे जानकारी गराएका छन्। उनका अनुसार मतदानस्थलमा मतपेटिका पुगे–नपुगेको विवरण, मतदान प्रक्रिया सुरु भएनभएको तथा मतदान रोकिएकोलगायत मतगणनाको अवस्थादेखि विजयी उम्मेदवारसम्मको विवरण प्राप्त हुनेछ। अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबैलगायत मन्त्रालय र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।
उक्त केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको थियो।
निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले प्रविधि र यसको व्यवस्थापनमा ठुलो फड्को मारेको आभास भएको बताए। यो प्रणालीले निर्वाचनलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास उनको छ। गृहमन्त्री अर्यालले प्रविधिमा सबै अपडेट हुन आग्रह गर्दै आगामी दिनमा सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन्।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज सो प्रणालीबाट मनिटरिङ भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।