भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बारा जिल्लामा साढे ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। चारवटै निर्वाचन क्षेत्रका ५८७ मतदान केन्द्र र समग्र सुरक्षाका लागि साढे ६ हजार सुरक्षाकर्मी परिचालन भएका हुन् ।
बाराका ५८७ मतदान केन्द्रमध्ये १४५ अति संवेदनशील, एक सय आठ संवेदनशील र ५२ केन्द्रलाई सामान्य अवस्थामा राखिएको छ । सोहीअनुसार सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको हो ।
जिल्लामा करिब एक हजार ६ सय नेपाल प्रहरी, एक हजार दुई सय सशस्त्र प्रहरी, आठ सय नेपाली सेना, ३५ जना राष्ट्रिय अनुसन्धानका कर्मचारी र तीन हजार ३६ जना निर्वाचन प्रहरी खटिएका छन् । मतदान केन्द्र, संवेदनशील क्षेत्र, मुख्य चोक र नाकालक्षित गर्दै नियमित गस्ती, निगरानी र चेकजाँचलाई तीव्रता दिइएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
बाराको १६ स्थानीय तहमा रहेका ३०५ मतदानस्थलअन्तर्गतका सबै ५८७ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका कर्मचारीले मंगलबारबाटै मतदानस्थल निर्माण सुरु गरिसकेका छन् । तराईमा बुधबार होली मनाइने हुँदा कतिपय मतदान केन्द्रमा मंगलबार नै बुथ बनाउन कार्य थालिएको हो ।
निर्वाचनका लागि नेपाल–भारत सीमानाका पनि सोमबार राति १२ बजेदेखि भोलि राति १२ बजेसम्मका लागि बन्द गरिएको छ । यसैबिच निर्वाचनका लागि ५८७ मतदान अधिकृतसहित तीन हजार ५५० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाको जिल्लामा कुल चार लाख ६५ हजार ७८४ जना मतदाता रहेका छन । जसमध्ये महिला मतदाता दुई लाख १० हजार नाैजना, पुरुष मतदाता दुई लाख ५५ हजार ७६३ जना र अन्य मतदाता १२ जना रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीले जानकारी दिएका छन्।
निर्वाचनलाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न जिल्लाभर ३०५ मतदानस्थल तोकिएका छन् भने ती स्थलमा गरी ५८७ मतदान केन्द्र स्थापना गरिएको छ। यस निर्वाचनमा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल ११० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। उम्मेदवारहरू विभिन्न राजनीतिक दल तथा स्वतन्त्र हैसियतमा चुनावी मैदानमा छन्।
निर्वाचन कार्यालयले मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिनुका साथै मतदान अधिकृत तथा कर्मचारीलाई आवश्यक तालिमसमेत दिइएको छ। जिल्लावासी मतदातालाई आफ्नो मताधिकार प्रयोग गरी लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्वाचन कार्यालयले आग्रहसमेत गरेको छ।