भोलि हुने निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा तोकिएका मतदान स्थलहरूमा मतदान केन्द्रहरू निर्माण गरिएका छन्। निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी प्रेमराज भट्टले सबै तयारी लगभग पूरा भएको जानकारी दिए।
कैलालीमा ६४१ वटा मतदान केन्द्र र चारवटा अस्थायी मतदान केन्द्र निर्माण गरिसकिएको उनले बताए। केन्द्रहरूमा बुथ बनाउने, मतपेटिका राख्ने, मत खसास्ने ठाउँ बनाउने, मतदाताको लाइन व्यवस्थित गर्न डोरीले घेरबार गर्नेलगायतका कामहरू पूरा भएका छन्।
सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरू खटिएका छन्। ‘सबै तयारी पूरा भयो,’ धनगढीस्थित पञ्चोदय माविको मतदान केन्द्रअन्तर्गत ‘छ’ मतदान स्थलका मतदान अधिकृत हेमराज खड्काले भने, ‘मतदाताले भोलि मत खसास्न मात्र बाँकी छ भनौँ।’
यो केन्द्रमा आठ हजार २२६ मतदाता छन्। मतदानका लागि महिला–पुरुष छुट्टाछुट्टै लाइनमा लाग्ने व्यवस्था गरिएको छ।