धनकुटा नगरपालिका– ५ स्थित माथिल्लोकोप्चेमा परापूर्वकालदेखि लाग्दै आएको साप्ताहिक बिहीबारे हटिया भोलि नलाग्ने भएको छ । राणाकालीन समयदेखि नै लाग्दै आएको उक्त साप्ताहिक बिहीबारे हटिया फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएकाले भोलिका लागि बन्द गरिएको हो ।
साप्ताहिक हटिया लाग्ने स्थानमा मतदान केन्द्र रहेकाले भोलि लाग्ने साप्ताहिक हटिया बन्द गरिएको धनुकटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा जनाइएको छ ।
धनकुटा नगरपालिका– ५, माथिल्लोकोप्चेमा हरेक हप्ताको बिहीबारका दिन लाग्दै आएको साप्ताहिक बिहीबारे हटिया करिब सय वर्ष अगाडिदेखि सुरु भएको मानिन्छ। उक्त बिहीबारे हटियामा स्थानीय स्तरमा उत्पादन भएका विभिन्न अन्नपात, सागसब्जी, पशुजन्य उत्पादन बिक्री–वितरण गर्ने गरिन्छ । बिहीबारे हटिया कोरोना भाइरसको कारणले लकडाउन हुँदा पनि बन्द भएको थियो ।