हुवावेले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रका १७ करोड मानिससम्म डिजिटल कनेक्टिभिटी विस्तार गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू)अन्तर्गतको ‘पार्टनर टु कनेक्ट डिजिटल कोलिसन’मा गरेको प्रतिबद्धता लक्ष्य पार गरेको हो ।
बार्सिलोनामा आयोजित ‘टेक केयर्स फोरम’मा सम्बोधन गर्दै कम्पनीका आइसिटी बिजीका सिइओ याङ चाओबिनले उक्त घोषणा गरेका हुन् । सन् २०२२ मा उक्त डिजिटल गठबन्धनमा सहभागी हुँदा हुवावेले सन् २०२५ सम्म १२ करोड मानिसलाई दुर्गम क्षेत्रमा कनेक्ट गर्ने प्रतिबद्धता जनाएको थियो । हाल १७ करोड मानिससम्म सेवा विस्तार गर्दै कम्पनीले आफ्नो लक्ष्य उल्लेखनीय रूपमा पार गरेको जनाएको छ ।
चाओबिनले एआईको तीव्र विकास भइरहे पनि डिजिटल विभाजन अझै कायम रहेको र थप फराकिलो हुने जोखिम रहेको बताए । ‘समावेशी तथा दिगो एआई युगका लागि उच्च गतिको डिजिटल सञ्जाल र सशक्त कम्प्युटिङ क्षमता आधारभूत आवश्यकता हुन्,’ उनले भने ।
उक्त प्रतिबद्धता पूरा गर्नु नवप्रवर्तनप्रतिको निरन्तर प्रतिबद्धताको प्रमाण भएको भन्दै उनले यसले दुर्गम समुदायलाई स्वास्थ्य, शिक्षा तथा वित्तीय सेवामा पहुँच विस्तार गर्न सहयोग पुगेको बताए । सन् २०१९ मा सुरु गरिएको हुवावेको स्किल्स अन ह्विल्स कार्यक्रममार्फत २१ देशका एक लाख ३० हजारभन्दा बढी मानिसलाई मोबाइल डिजिटल तालिम प्रदान गरिएको छ ।