११ महिनापछि दमक अस्पतालले पायो व्यवस्थापन समिति

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

दमक नगरपालिकाको स्वामित्वमा रहेको दमक अस्पतालले ११ महिनापछि चुनावको मुखमा नयाँ समिति पाएको छ । १५ शड्ढयाको अस्पतालको अध्यक्षमा दमकका मेयर रामकुमार थापा दोस्रो कार्यकालका लागि अध्यक्ष भएका हुन् । 

यसअघि उनको कार्यकाल गत चैत ६ मा सकिएको थियो । ११ महिनाको माथापच्चीपछि दमक नगरपालिकाको १२ फागुनको कार्यपालिका बैठकले थापाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो । निर्णय प्रमाणीकरण पनि भइसकेको छ । यद्यपि, निर्वाचनअगाडि सार्वजनिक नगर्ने सहमति भएको स्रोतले जनाएको छ ।

थापा दमकस्थित ओममेची अस्पताल नामक निजी अस्पतालका सञ्चालक पनि हुन् ।

दमक नगरपालिकाको कार्यपालिकामा एमालेको दुईतिहाइ छ । २१ जना सदस्य रहेको कार्यपालिकामा १५ जना एमालेबाट छन् । राप्रपाका मेयरसहित दुई, कांग्रेसबाट उपमेयर रेगिना भट्टराईसहित तीनजना र प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव छन् । 

एमालेले अध्यक्ष बन्न नदिने देखेपछि मेयर थापाले ११ महिनासम्म कार्यपालिका बैठकमा प्रस्तावसमेत ल्याएका थिएनन् । 

निर्वाचनको मुखमा नयाँ समिति बनाउदा अरु दलहरूबाट विरोध नहुने देखेछि मौका छोपेर समिति गठन गरेको हुनसक्ने रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकीले बताए । 

अस्पतालका अध्यक्ष बनेका मेयर थापाले भने अस्पताल व्यवस्थापन समिति बनाउने कार्यपालिकाको निर्णयसँग निर्वाचनको सम्बन्ध नरहेको बताए । उनले व्यवस्थापन समिति बनाउने निर्णय कार्यपालिकाको नियमित काम भएको बताए । ‘अस्पताल व्यवस्थापन समिति बनाउने निर्णय नियमित हो । निर्वाचनसँग यसको केही पनि सरोकार छैन,’ नगरप्रमुख थापाले भने, ‘पहिला नै टुंगिएको थियो । नभ्याएर मात्रै निर्णय भएको थिएन । कसैले रोक्ने अवस्था नभएपछि निर्णय भएको हो ।’
 

सुझावित समाचार