- मध्यपूर्वको तनावले नेपालको पर्यटनमा असर पर्ने जोखिम
- कोभिडपूर्वकै अवस्थामा भित्रिँदै थिए मध्यपूर्वी देशका पर्यटक
सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा एक लाख पाँच हजार चार सय ४१ जना विदेशी पर्यटक घुम्न आएका छन् । यो गत वर्षको फेब्रुअरीको तुलनामा ८.८ प्रतिशतले बढी हो । जनवरीमा ९२ हजार पाँच सय ७३ जना पर्यटक भित्रिएका थिए ।
भारत र चीनबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुँदा यसले पर्यटन क्षेत्रमा ठुलो टेवा पुर्याएको छ । सो महिनामा भारतबाट २२ हजार सात सय ४५ जना र चीनबाट १० हजार आठ सय १६ जना पर्यटक भित्रिएका छन् । भारततर्फ भित्रिने पर्यटकको संख्यामा १८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ ३०.६ प्रतिशतको वृद्धि देखिएको छ । अस्ट्रेलिया, अमेरिका, ब्राजिल, मेक्सिकोजस्ता मुलुकबाट आउने पर्यटकको संख्यामा भने कमी आएको छ ।
मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा तनावले नेपालको पर्यटन क्षेत्रमा असर पर्ने जोखिम देखिएको छ । विशेष गरी इरान र अन्य मुलुकहरूबिचको तनावले त्यहाँको समग्र आर्थिक र यात्रा गतिविधिमा प्रभाव पार्न सक्छ । यसको असर नेपाल आउने पर्यटकको संख्यामा पनि पर्न सक्ने पर्यटन व्यवसायीको चिन्ता छ ।
अहिले चर्चा प्राय: मध्यपूर्वमा काम गर्ने नेपाली श्रमिकबाट आउने रेमिट्यान्स घट्न सक्ने विषयमा केन्द्रित भए पनि पर्यटन क्षेत्र पनि संवेदनशील छ । पछिल्लो समय मध्यपूर्वी देशहरूबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बिस्तारै बढ्दै गएको थियो ।
नेपाल पर्यटन बोर्डका अनुसार यस वर्ष फेब्रुअरी महिनामा मात्रै मध्यपूर्वी देशहरूबाट नौ सय ४९ जना पर्यटक नेपाल आएका छन् । यो संख्या सन् २०२५ को फेब्रुअरीको तुलनामा आठ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा आठ सय ७९ जना पर्यटक आएका थिए । कोभिड महामारीअघि अर्थात् सन् २०१९ को फेब्रुअरीमा मध्यपूर्वबाट एक हजार एक सय ४३ जना पर्यटक नेपाल आएका थिए । पछिल्लो वृद्धि दरले पर्यटक आगमन कोभिडपूर्वकै अवस्थामा फर्किने संकेत देखिएको थियो । तर, अहिले क्षेत्रीय तनाव बढ्दै जाँदा यात्राको योजना स्थगित हुने, उडानहरू प्रभावित हुने वा आर्थिक अनिश्चितता बढ्ने सम्भावना रहेको जानकारहरू बताउँछन् । यसले नेपाल भ्रमणमा आउने पर्यटक संख्यामा कमी आउन सक्छ ।
नेपालमा खासगरी इजरायल र टर्कीबाट हिमाल आरोहण तथा ट्रेकिङ गर्ने उद्देश्यले पर्यटक बढी संख्यामा आउने गरेका छन् । पर्यटन व्यवसायीका अनुसार नेपालले पछिल्लो समय मध्यपूर्वलाई सम्भावित बजारका रूपमा हेर्दै प्रवद्र्धन बढाएको थियो । तर, त्यहाँको अस्थिरताले सुधारको क्रममा रहेको पर्यटन क्षेत्रलाई फेरि चुनौती दिन सक्ने देखिन्छ ।
मध्यपूर्वी क्षेत्रमध्ये नेपालमा सबैभन्दा बढी टर्की र इजरायलबाट बढी पर्यटक आउने गरेका छन् । गत फेब्रुअरीमा टर्कीबाट चार सय २२ जना पर्यटक र इजरायलबाट तीन सय ४८ जना भित्रिएका थिए । कुवेतबाट ८५ जना आएका थिए । साउदी अरबबाट ४० जना, कतारबाट २० जना, संयुक्त अरब इमिरेट्सबाट २५ जना र ओमनबाट नौजना भित्रिएका थिए ।