मध्यपूर्वमा जारी तनावले गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन प्रभावित हुन सक्ने देखिएको छ । आगामी १४ देखि १६ मार्चसम्म काठमाडाैंमा आयोजना हुने तय भएको एनआरएनएको महाधिवेशन मध्यपूर्वको तनावले अन्योल बढाएको हो ।
कतिपय पदाधिकारी तथा आसन्न निर्वाचनका प्रतिस्पर्धीले महाधिवेशन सार्नुपर्ने आवाज उठाएका छन् । एनआरएनएका महासचिव गौरीराज जोशीले अवस्था जटिल रहेको भए पनि कुनै निर्णय भइनसकेको बताए । ‘विश्व परिस्थिति जटिल छ, मध्यपूर्वको अवस्था संवेदनशील छ, महाधिवेशन सार्नुपर्ने आवाज पनि उठिरहेको छ,’ उनले भने, ‘यस विषयमा अहिले छलफल भइरहेको छ, कुनै निर्णय भएको छैन ।’
सुरुमा २३ देखि २५ फेब्रुअरीसम्मका लागि तय भएको एनआरएनए महाधिवेशन एक महिना पर धकेलिएको थियो । एनआरएनएको बृहत् एकतापश्चात् गठित स्टेरिङ कमिटीको २ माघको बैठकले अधिवेशन १४ देखि १६ मार्चसम्म गर्ने निर्णय गरेको थियो । काठमाडौंस्थित सोल्टी होटेलमा गरिने तय भएको अधिवेशनका लागि निर्वाचन समितिले प्रारम्भिक मतदाता नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रोबिनप्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन् सोमबार एक विशेष अपिल जारी गर्दै शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया रोक्न निर्वाचन समितिलाई आग्रह गरेका हुन् ।
शेरचनले विशेष गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमलाई मुख्य कारणका रूपमा अघि सारेका छन् । संकटको यस घडीमा हजारौँ नेपालीले आशा र भरोसाका साथ एनआरएनएतर्फ हेरिरहेको उल्लेख गर्दै उनले मानवीय संवेदनालाई बिर्सेर चुनाव र पदमा मात्र केन्द्रित हुनु संस्थाको मूल मर्मविपरीत हुने जिकिर गरेका छन् । उनले मध्यपूर्वको असुरक्षाका कारण युरोप, अमेरिका र स्वयं मध्यपूर्वबाट नेपाल आउने प्रतिनिधिको यात्रासमेत अनिश्चित बनेको अवस्थामा अग्रज र अभियन्ताहरूको व्यापक सहभागिताविनाको महाधिवेशन अपूर्ण रहने देखिने बताएका छन् ।
यसअघि अमेरिकामा रहेका एनआरएनएका अभियान्ता डा. केशव पौडेल, सनील साह, बुद्धि सुवेदी,, गौरीराज जोशी, बिआर लामा, खगेन्द्र जिसी र डा. अर्जु बन्जाडेले आइतबार संयुक्त अपिल जारी गर्दै एनआरएनएको अधिवेशन सार्नुपर्ने माग गरेका छन् । ‘एनआरएनएको सम्मेलन मिति नजिकिँदै जाँदा विश्व परिस्थितिमा आएको जटिलता, विशेष गरी मध्यपूर्व क्षेत्रमा विकसित संवेदनशील अवस्था, श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीमा परेको प्रत्यक्ष प्रभाव तथा संघभित्र दीर्घकालीन एकता सुदृढ गर्न आवश्यक पर्ने विषयसमा पर्याप्त सहमति हुन नसकेको अवस्थामा सबैका लागि चिन्ताको विषय बनेको छ,’ अपिलमा भनिएको छ, ‘हाल निर्धारित मितिमा सम्मेलन आयोजना गर्दा व्यापक सहभागिता सुनिश्चित हुन नसक्ने सम्भावना देखिएकाले सम्मेलनलाई केही समय स्थगन गरी सबै पक्षबिच आवश्यक सहमति कायम गरेर सर्वसम्मत वातावरणमा पुन: उपयुक्त मिति तय गरी सर्वपक्षीय र दीर्घकालीन एकताको महाधिवेशन आयोजना गर्न हामी अपिल गर्दछौँ ।’