- बुद्धजयन्ती, मजदुर दिवस र उँभौली एकै दिन १८ वैशाखमा । दसैँको एक दिनसहित गाईजात्रा, संविधान दिवस र सहिद दिवस शनिबार
सरकारले आगामी वर्ष ०८३ सालको सार्वजनिक पर्व र बिदा सार्वजनिक गरेको छ । गृह मन्त्रालयले गत सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी वर्षभरि हुने पर्व, दिवस, बिदा निर्धारण गरेको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार आगामी आवमा ५२ वटा शनिबार परेका छन् । मुलुकभरि सार्वजनिक बिदा हुने पर्वमा वैशाखमा १ गते नयाँ वर्ष र १८ गते चण्डीपूर्णिमा/बुद्ध जयन्ती/उँभौली पर्व, भदौमा १२ गते रक्षाबन्धन, १९ गते श्रीकृष्ण जन्माष्टमी, असोजमा २५ गते घटस्थापना र ३१ गतेदेखि कात्तिक ६ गतेसम्म दसैँ बिदा छ ।
यसैगरी कात्तिक २२ देखि २६ गतेसम्म तिहार बिदा, २९ गते छठ पर्व, पुस ९ गते धान्यपूर्णिमा, १० गते इसाई धर्मावलम्बीको क्रिसमस डे, १५ गते तमू ल्होछार, माघ १ गते माघी पर्व, २४ गते सोनम ल्होछार र २५ गते ग्याल्पो ल्होसारको बिदा निर्धारण गरिएको छ । इस्लाम धर्मावलम्बीको पर्व इद र बकर इदका दिन पनि बिदा दिने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । त्यस्तै, चैतमा ७/८ गते फागुपूर्णिमामा पनि बिदा छ ।
यसबाहेक सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने सार्वजनिक बिदाको सूची पनि राजपत्रमा छ । त्यसमा भदौ १३ गतेको गाईजात्रा र १९ गतेको गौरा पर्व, पुस १५ गतेको दुरा म्हैप्रु नकुमा र सिरुवा पवनीका दिन पनि बिदा दिइएको छ ।
भदौ २९ गतेको हरितालिका तिज र असोज १८ गतेको जितिया पर्वमा महिला कर्मचारीका लागि बिदा दिइएको छ । माघ २८ गते वसन्त पञ्चमीमा शिक्षण संस्थाहरूका लागि बिदा दिइएको छ ।
भदौ १३ मा गाईजात्रा, असोज ९ मा इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र चैत २३ मा घोडेजात्राका दिन काठमाडौं उपत्यकामा बिदा दिइएको छ ।
मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवसको बिदामा वैशाख १८ को विश्व मजदुर दिवस, जेठ १५ को गणतन्त्र दिवस, असोज ३ को संविधान दिवस, माघ १६ को सहिद दिवस र फागुन ७ को राष्ट्रिय प्रजातन्त्र दिवस तथा २४ को अन्तर्राष्ट्रिय महिला दिवस छन् ।
मंसिर २७ गते अन्तर्राष्ट्रिय अपांगता दिवसमा अपांगता भएका कर्मचारीका लागि मात्र बिदा दिइएको छ ।
जन्मजयन्तीमा मुलुकभरी बिदा हुने दिनमा वैशाख १८ को बुद्धजयन्ती र पुस २७ गतेको पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) छन् । कात्तिक २५ मा फाल्गुनन्द जयन्ती, मोहम्मद जयन्ती र गुरु नानक जयन्तीमा क्रमश: किराँत, मुस्लिम र शिख धर्मावलम्बीका लागि मात्र बिदा छ ।
विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सावजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने राजपत्रमा उल्लेखित छ ।
पर्वका अधिकांश बिदामा नागरिकता, राहदानी, कन्सुलर, भन्सार, क्वारेन्टिनलगायतका महŒवपूर्ण सेवा अवरुद्ध नहुन गरी आवश्यक प्रबन्ध मिलाउनुपर्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।